शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय दलको बैठक

कांग्रेसले भन्यो– कोशी प्रकरण अनपेक्षित, गम्भीररुपमा लिएका छौँ

संसद् अधिवेशनमा प्रभावकारीरुपमा प्रस्तुत हुने निर्णय
शुक्रबार, १९ माघ २०८०, १६ : २३
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कोशीमा एक सिट गुमाएकोमा अनपेक्षित भएको ठहर गरेको छ । शुक्रबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले कोशी प्रकरणालाई गम्भीर रुपमा लिएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने,‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट हामीले १९ जना साझा उम्मेदवार उठाएका थियौँ । तर कोशी प्रदेशमा एक सिट गुमायौँ । बैठकले यसलाई अनपेक्षित ठहर गरेको छ । यो विषयलाई गम्भीर रुपमा लिएका छौँ ।’

साथै माघ २२ गतेदेखि सुरु हुने संघीय संसद्को अधिवेशन संसद् र समितिमा खेल्नुपर्ने भूमिकासम्बन्धीमा निर्णय गरेको लेखकले जानकारी दिए ।

‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको एजेण्डा हुन् । संसदीय शासन प्रणालीमा यी कार्य सम्पादन गर्न संसद्को प्रभावकारिता अनिवार्य हुन्छ । नेपाली कांग्रेस सदैव लोकतन्त्र र संसदीय प्रणालीको पक्षमा रहेको छ । देशमा सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित कांग्रेसले संसदमा प्रभावकारिता गम्भीर र जिम्मेवार हुनुपर्दछ । कांग्रेसका सम्पूर्ण सांसदहरू संसद् र समितिहरुमा जिम्मेवारीपूर्ण रुपमा क्रियाशील रहन, राष्ट्र र जनताप्रति तत्परतापूर्वक सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछौं’, बैठकको निर्णय सुनाउँदै लेखकले भने ।

साथै संघीय शासन प्रणालीलाई सुदृढ बनाउन धेरै विधायक संसदमा पेस गर्न बाँकी रहेकाले ती विधयकलाई तत्काल संसद् पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप