शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
यू–१९ विश्वकप क्रिकेट

नेपालले भारतलाई हराउन २९८ रन बनाउनुपर्ने

शुक्रबार, १९ माघ २०८०, १७ : ३२
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन दुई सय ९८ रन बनाउनुपर्ने भएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको हो ।

चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको हो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले एक सय १६ रन बनाए । उनले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए ।

सचिनको विकेट गुल्सन झाले लिएका हुन् । ४७.४ ओभरमा गुल्सनले सचिनलाई दिपक बोहराद्वारा क्याच गराएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको खातामा एक सय रन थपे ।

उदयले एक सय सात बलको सामना गरी नौ चौका पनि हिर्काए । उनी पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । उदयको विकेट पनि गुल्सनले नै लिएका हुन् । उनलाई ४९.४ ओभरमा गुल्सनले सुवाष भण्डारीद्वारा क्याच गराएका थिए ।  

भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो । त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । मुसिर खान नौ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा पनि १४ रन पायो । नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए ।  

भारतको पहिलो विकेट नेपाली बलर गुल्सनले लिएका थिए । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।

भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।

‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो । यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप