सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सांसद

संसद्को पुस्तकालयमा जान अल्छी मान्छन् सांसद र मन्त्री !

शक्ति बस्नेतबाहेक अरू मन्त्रीले पुस्तकालयमा पाइला टेकेनन्
शनिबार, २० माघ २०८०, १२ : २५
शनिबार, २० माघ २०८०

काठमाडौँ । संघीय संसद् सचिवालयमा सांसद तथा मन्त्रीलाई लक्षित गरी स्थापना गरिएको पुस्तकालयमा अध्ययनका लागि न्यून सङ्ख्यामा मात्र सांसद जाने गरेका छन् । संघीय संसद्को पुस्तकालयमा सीमित सांसदमात्र जाने गरेको भेटिएको छ ।

सांसद तथा मन्त्रीलाई अध्ययन, अनुसन्धानका लागि सहज हुने गरी व्यवस्था गरिएको पुस्तकालयमा विभिन्न पुस्तक, पत्रपत्रिकाका अलावा इन्टरनेटसहित कम्प्युटरको पनि व्यवस्था गरिएको छ । उनीहरूले त्यहाँबाट अध्ययनका लागि पुस्तक घरमा लैजान पनि पाउँछन् ।

अघिल्लो वर्ष मङ्सिरमा निर्वाचन भएपछिको झण्डै एक वर्षको अवधिमा संघीय संसद्स्थित पुस्तकालयमा सांसदहरूको प्रवेशको विवरण यस्तो छ :

  • २०७९ पुस

सूर्यकुमारी श्रेष्ठ, शेरबहादुर कुँवर, दीनानाथ शर्मा (पूर्व सांसद) तुलसा कुमारी दाहाल, सुमित्रा विसी, शक्ति बहादुर बस्नेत

  • २०७९ माघ

तुलसाकुमारी दाहाल, अमृतलाल राजवंशी (पूर्व सांसद) हेमराज राई, परशुराम मेघी गुरुङ, डा.धवल शमशेर राणा, शक्ति बहादुर बस्नेत

  • २०७९ फागुन

परशुराम मेघी गुरुङ, शक्ति बहादुर बस्नेत, दीनानाथ शर्मा (पूर्व सांसद), सावित्रा दुरा (पूर्व सांसद)

  • २०७९ चैत

हीतराज पाण्डे, दीनानाथ शर्मा (पूर्व सांसद), माधव सापकोटा (सुवोध), इन्दू कडरिया, गोपीबहादुर आछामी, विमला राई पौड्याल

  • २०८० वैशाख

दीनानाथ शर्मा (पूर्व सांसद), माधव सापकोटा (सुवोध), परशुराम मेघी गुरुङ, खेमराज भट्ट (पूर्व सांसद, गत असोजमा निधन)

  • २०८० जेठ

भैरव सुन्दर श्रेष्ठ, महेश कुमार बर्तौला, भगवती न्यौपाने, तुलसा कुमारी दाहाल, शक्ति बहादुर बस्नेत, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, गोपी बहादुर आछामी

  • २०८० असार

रघुजी पन्त, परशुराम मेघी गुरुङ, माधव सापकोटा, सूर्य पाठक, बिन्दा पाण्डे (पूर्व सांसद), शक्ति बहादुर बस्नेत

  • २०८० साउन

राधेश्याम अधिकारी, गोपी अछामी, विमला राई पौड्याल, बिना पोखरेल, मायाप्रसाद शर्मा, दीनानाथ शर्मा, शक्ति बहादुर बस्नेत, सूर्य पाठक (पूर्व सांसद), सावित्रा दुरा, तुलसा कुमारी दाहाल, माधव सापकोटा ।

  • २०८० भाद्र

दीनानाथ शर्मा (पूर्व सांसद), शक्ति बहादुर बस्नेत, खिमलाल देवकोटा, भुवन सुनार, तुलसा कुमारी दाहाल, बिन्दा पाण्डे, बद्री पाण्डे, जीवन परियार ।

  • २०८० असोज

शक्ति बहादुर बस्नेत, परशु मेघी गुरुङ, सांसद खिमलाल देवकोटा, राधेश्याम अधिकारी, गोपी सार्की अछामी

  • २०८० कार्तिक

जीवन परियार, कमला रोका (पूर्व सांसद) प्रतीक्षा तिवारी, गोपी अछामी, महेश बर्तौला, प्रदीप यादव

  • २०८० मङ्सिर

गोपी आछामी

  • २०८० पुस

किरणकुमार साह, आशा विक, लक्ष्मी तिवारी, सीता राना, शोभा ज्ञवाली, विन्दबासिनी कंशाकार, हर्कमाया विक, तुलसा कुमारी दाहाल

  • २०८० माघ

दीनानाथ शर्मा (पूर्व सांसद), गोपी सार्की अछामी, तुलसा कुमारी दाहाल

अभिलेख हेर्दा पूर्व सांसद दीनानाथ शर्मा प्रत्येक महिनाजसो संसद्को पुस्तकालयमा आउने गरेका छन् । तर दलका प्रमुख नेता, मुख्य सचेतक, सचेतकहरुले पुस्तकालय प्रयोग गर्ने गरेको भेटिएन । संसदमा प्रतिनिधित्व गर्ने नयाँ दलका सांसद पनि पुस्तकालयमा अत्यन्त न्यून मात्रामा पुगेका छन् ।

ऊर्जामन्त्री शक्ति बस्नेत बाहेक अरू मन्त्री जाँदैनन् पुस्ताकालय

संसद्को पुस्तकालयको अभिलेख हेर्दा ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री शक्ति बस्नेत नियमितजस्तो पुस्तकालय जाने गरेका छन् । सांसदको उपस्थिति रेकर्डमा प्रत्येक महिनाजसो उनी पुस्तकालयमा पुगेको देखिन्छ । पुस्तकालयबाट उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुस्तकहरू लगेर अध्ययन गर्ने गरेको रातोपाटीलाई जानकारी दिए ।

मन्त्री बस्नेतले भने, ‘सिंहदरबारमा फुर्सद भएको बेला पुस्तकालयमा पस्ने गर्छु । कार्यालयमा समय निस्किएको बेला जाने गरेको छु । किताबहरू लाने, बुझाउने गरिरहेको छु । मैले मन्त्रालयमा काम गरिरहेको विषय (ऊर्जा) का साथै राजनीतिक विषयका पुस्तकहरू ल्याउने गर्छु । सांसदहरूकै लागि बनाएको पुस्तकालयको सदुपयोग पनि गर्नुपर्‍यो नि ।’

संसद्को पुस्तकालयमा समय सान्दर्भिक, समसामयिक पाठ्यसामग्री थप गर्दै लैजानुपर्ने उनले बताए । उनले भने, ‘अहिले हाम्रा संविधान, ऐन कानुनहरूबारे व्यापक धारणा बनाउन सक्नेखालका पाठ्यसामग्री राख्नतिर सोच्नुपर्छ । अन्य मुलुकका संसदीय अनुभवहरू कस्तो छ, संसद् सदस्यहरूलाई अनुभव लिन मिल्नेखालका सामग्री भयो अझै राम्रो हुन्छ ।’

मन्त्री बस्नेतका अलावा मन्त्रिपरिषद्मा रहेका अन्य २४ जना मन्त्री पुस्तकालयमा गएको रेकर्ड भेटिएन ।

  • २५ हजारभन्दा बढी छन् पुस्तक

नीति निर्माताको भूमिकामा जनताद्वारा निर्वाचित भएर गएका सांसदहरूलाई अध्ययनका लागि व्यवस्था गरिएको पुस्तकालयमा संसद्‍का ऐतिहासिक सामग्रीका साथै समसामयिक विषयका पाठ्यपुस्तक राखिएका छन् । प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्माले २५ हजारभन्दा बढी पुस्तक रहेको रातोपाटीलाई जानकारी दिइन् ।

पुस्तकालयमा धेरैजसो राजनीति, कानुन, इतिहास, प्रशासन, अन्तर्राष्ट्रिय सम्बन्ध, साहित्य लगायत विभिन्न विषयका पुस्तक छन् । पुस्तकालयबाट पुस्तक लगेर फिर्ता गर्न बाँकी कुनै सांसद नरहेको उनले बताइन् ।

शर्माले भनिन्, ‘बहालवाला सांसदहरूको आफ्नो कार्यकाल छउन्जेल पुस्तकालयका पुस्तक प्रयोग गर्न सक्नुहुन्छ, उहाँहरुले पुस्तक नबुझाएको भन्न मिल्दैन । पूर्व सांसदहरूले पनि यो पुस्तकालयको सदस्य बनेर पुस्तक लैजान पाउनुहुन्छ । सांसदहरूले आफ्नो कार्यकाल सकेपछि क्लियरेन्स गर्नुपर्छ । पूर्व सांसद भएपछि अर्काे व्यवस्थाबाट उहाँहरूलाई सदस्यता दिन्छौँ, पूर्वसांसदमध्ये पुस्तक बुझाउन कोही बाँकी हुनुहुन्न ।’

पूर्व सांसदहरूले पुस्तकालयको सदस्य बनाउन आग्रह गरेपछि उनीहरूलाई पनि सदस्य बन्ने सुविधा दिइएको छ । पुस्तकालयको उपस्थिति रेकर्डमा हेर्दा पूर्व सांसद दीनानाथ शर्मा बाहेक अरू पूर्व सांसदहरूको खासै उपस्थिति देखिँदैन ।

एक पटक २ वटासम्म पुस्तक लैजान पाउने व्यवस्था भए पनि पाँच–सात वटासम्म पुस्तक दिने गरेको शर्माले बताइन् । एक महिनाभित्र पुस्तक फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि पुस्तक फिर्ताका लागि सांसदहरूका लागि कडिकडाउ नियम भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप