सभामुखसहितलाई १३ प्रकारका सेवा–सुविधा, ५ जना सदस्य नरहेका साना दललाई ‘घाटा’
बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा निर्धारण गरेको छ ।
जस अनुसार मासिक पारिश्रमिक, बैठक भत्ता, आवास, फर्निचर, सवारी इन्धन, मोबिल, बिजुली÷धारा, सञ्चार, आन्तरिक भ्रमण, वैदेशिक भ्रमण र यातायात सुविधा शीर्षकमा सेवा–सुविधा उपलब्ध गराइन्छ । यस अतिरिक्त निजी सचिवालय व्यवस्थापन र अतिथि सत्कारबापत पनि मासिक रकम उपलब्ध गराउने व्यवस्था छ ।
सो ऐन बमोजिम नै सभामुख, उपसभामुख तथा विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र सांसदहरूले सुविधा प्राप्त गर्दै आएका छन् । जसअनुसार सभामुखको ६१ हजार ४८० रुपैयाँ, उपसभामुख र विपक्षी दलको नेताको ५८ हजार, सत्ता पक्षको प्रमुख सचेतकको ५६ हजार ६८०, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति र दलको सचेतकको ५५ हजार ६८० रुपैयाँ मासिक पारिश्रमिकको व्यवस्था छ । यस्तै, प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ तोकिएको छ ।
उनीहरू सबैलाई प्रतिबैठक भत्ता १ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । आवास सुविधा बापत विपक्षी दलको नेतालाई मासिक २५ हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यलाई मासिक १७ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरका लागि उनीहरूलाई एकमुस्ट ४५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।
सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेतालाई २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोबिल त्रैमासिक रूपमा १० लिटर उपलब्ध गराइन्छ भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० रुपैयाँ प्राप्त गर्दछन् ।
बिजुली धारा बापत सभामुख र उपसभामुखले बिल अनुसार र विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यसम्मले मासिक १५ सय रुपैयाँ पाउँछन् ।
सञ्चार सुविधा अन्तर्गत सभामुखले बिल अनुसार र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक २ हजार प्राप्त गर्छन् । आन्तरिक भ्रमण खर्च बापत सभामुखले २ हजार ५०० र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले दैनिक २ हजार रुपैयाँ पाउँछन् भने वैदेशिक भ्रमण खर्च बापत सभामुखले २२५ अमेरिकी डलर र उपसभामुख, विपक्षी दलको नेताले दैनिक १७५ अमेरिकी डलर प्राप्त गर्छन् ।
यस्तै निजी सचिवालय व्यवस्थापनका लागि सभामुखलाई मासिक २ हजार रुपैयाँको व्यवस्था छ । तर उपसभामुख, विपक्षी दलको नेता र सत्ता पक्षको प्रमुख सचेतकलाई भने यसबापत मासिक ३ हजार रुपैयाँको व्यवस्था गरिएको छ । अतिथि सत्कारबापत सभामुखलाई प्रति महिना १० हजार रुपैयाँ र उपसभामुखलाई पाँच हजार रुपैयाँको व्यवस्था छ । विपक्षी दलका नेता र सत्ता पक्षका प्रमुख सचेतकलाई भने अतिथि सत्कारबापत मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइन्छ ।
लुम्बिनी प्रदेशसभामा १० वटा दलका ८७ जना सदस्य छन् । ऐनमा कम्तीमा ५ जना सभा सदस्य रहेको दलको नेताले मात्र सेवा सुविधा पाउने उल्लेख छ । लुम्बिनी प्रदेशसभामा एमालेको २९, कांग्रेसको २७, माओवादीको ११ सांसद छन् । ती दलका नेताले सेवा सुविधा लिन पाउने छन् । ५ भन्दा थोरै सदस्य रहेका जनमत पार्टी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, राप्रपा लगायतका दलका संसदीय दलको नेताले भने सुविधा पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण