आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेशसभा

सभामुखसहितलाई १३ प्रकारका सेवा–सुविधा, ५ जना सदस्य नरहेका साना दललाई ‘घाटा’

सोमबार, २२ माघ २०८०, १३ : ३०
सोमबार, २२ माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा निर्धारण गरेको छ ।

जस अनुसार मासिक पारिश्रमिक, बैठक भत्ता, आवास, फर्निचर, सवारी इन्धन, मोबिल, बिजुली÷धारा, सञ्चार, आन्तरिक भ्रमण, वैदेशिक भ्रमण र यातायात सुविधा शीर्षकमा सेवा–सुविधा उपलब्ध गराइन्छ । यस अतिरिक्त निजी सचिवालय व्यवस्थापन र अतिथि सत्कारबापत पनि मासिक रकम उपलब्ध गराउने व्यवस्था छ ।

सो ऐन बमोजिम नै सभामुख, उपसभामुख तथा विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र सांसदहरूले सुविधा प्राप्त गर्दै आएका छन् । जसअनुसार सभामुखको ६१ हजार ४८० रुपैयाँ, उपसभामुख र विपक्षी दलको नेताको ५८ हजार, सत्ता पक्षको प्रमुख सचेतकको ५६ हजार ६८०, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति र दलको सचेतकको ५५ हजार ६८० रुपैयाँ मासिक पारिश्रमिकको व्यवस्था छ । यस्तै, प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ तोकिएको छ ।

उनीहरू सबैलाई प्रतिबैठक भत्ता १ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । आवास सुविधा बापत विपक्षी दलको नेतालाई मासिक २५ हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यलाई मासिक १७ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरका लागि उनीहरूलाई एकमुस्ट ४५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेतालाई २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोबिल त्रैमासिक रूपमा १० लिटर उपलब्ध गराइन्छ भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० रुपैयाँ प्राप्त गर्दछन् ।

बिजुली धारा बापत सभामुख र उपसभामुखले बिल अनुसार र विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यसम्मले मासिक १५ सय रुपैयाँ पाउँछन् ।

सञ्चार सुविधा अन्तर्गत सभामुखले बिल अनुसार र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक २ हजार प्राप्त गर्छन् । आन्तरिक भ्रमण खर्च बापत सभामुखले २ हजार ५०० र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले दैनिक २ हजार रुपैयाँ पाउँछन् भने वैदेशिक भ्रमण खर्च बापत सभामुखले २२५ अमेरिकी डलर र उपसभामुख, विपक्षी दलको नेताले दैनिक १७५ अमेरिकी डलर प्राप्त गर्छन् ।

यस्तै निजी सचिवालय व्यवस्थापनका लागि सभामुखलाई मासिक २ हजार रुपैयाँको व्यवस्था छ । तर उपसभामुख, विपक्षी दलको नेता र सत्ता पक्षको प्रमुख सचेतकलाई भने यसबापत मासिक ३ हजार रुपैयाँको व्यवस्था गरिएको छ । अतिथि सत्कारबापत सभामुखलाई प्रति महिना १० हजार रुपैयाँ र उपसभामुखलाई पाँच हजार रुपैयाँको व्यवस्था छ । विपक्षी दलका नेता र सत्ता पक्षका प्रमुख सचेतकलाई भने अतिथि सत्कारबापत मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

लुम्बिनी प्रदेशसभामा १० वटा दलका ८७ जना सदस्य छन् । ऐनमा कम्तीमा ५ जना सभा सदस्य रहेको दलको नेताले मात्र सेवा सुविधा पाउने उल्लेख छ । लुम्बिनी प्रदेशसभामा एमालेको २९, कांग्रेसको २७, माओवादीको ११ सांसद छन् । ती दलका नेताले सेवा सुविधा लिन पाउने छन् । ५ भन्दा थोरै सदस्य रहेका जनमत पार्टी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, राप्रपा लगायतका दलका संसदीय दलको नेताले भने सुविधा पाउने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप