बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेशसभा

राप्रपाका भाग्यमानी दुई सांसद, पाउँछन् प्रदेश सभा पदाधिकारी समान तलब–भत्ता

यस्तो छ गण्डकीका सभामुखदेखि सांसदसम्मले पाउने सेवा–सुविधा
सोमबार, २२ माघ २०८०, १२ : ५५
सोमबार, २२ माघ २०८०

कास्की । खर्चिलो व्यवस्थाका रूपमा चित्रित गर्दै संघीयता विरुद्ध प्रश्नहरू उठिरहेको बेला गण्डकी प्रदेशसभाका जननिर्वाचित प्रतिनिधिहरूले त्यसलाई बल पुग्ने गरी सेवा–सुविधा लिइरहेको पाइएको छ । सेवा–सुविधा बढाउने नाममा यात्रा बीमासमेत गरिएको छ ।

संघीयताको कट्टर विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशसभामा जम्मा दुई सांसद छन्, तीमध्ये एक संसदीय दलको नेता र अर्का प्रमुख सचेतक छन् । दुवैले सभाबाट पदाधिकारीको हैसियतमा मासिक पारिश्रमिकसहित सेवा–सुविधा लिइरहेका छन् ।

  • सभामुखको सेवा–सुविधा  

गण्डकी प्रदेशसभाका सभामुखले मासिक ६३ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । सभामुखले प्रत्येक बैठकको १ हजार भत्ता पाउँछन् भने मासिक रूपमा २ हजार रुपैयाँ सञ्चार सुविधा, सरकारी आवास, निजी बन्दोबस्तका लागि मासिक २ हजार रुपैयाँ पाउँछन् ।

सभामुखलाई मासिक १ सय ५० लिटर इन्धन, त्रैमासिक रूपमा १० लिटर मोबिल, बिल अनुसार धारा बिजुलीको रकम, दैनिक भ्रमणभत्ता प्रतिदिन २ हजार ५ सय रुपैयाँसँगै विदेश जाँदा प्रतिदिन १ सय ७५ अमेरिकी डलर उपलब्ध गराइन्छ । सभामुखलाई १० लाख रुपैयाँको यात्रा बीमा सुविधा पनि छ । सभामुखको सचिवालय व्यवस्थापनमा पनि खर्च हुने गरेको छ ।

  • उपसभामुख र विपक्षी दलका नेतालाई समान सुविधा

उपसभामुख र विपक्षी दलका नेताले मासिक समान पारिश्रमिक ६० हजार रुपैयाँ बुझ्छन् भने १ हजार रुपैयाँ बैठक भत्ता, १ हजार ५ सय रुपैयाँ सञ्चार सुविधाबापत उपलब्ध गराइन्छ ।

उपसभामुखले सरकारी निवास पाउँछन् भने विपक्षी दलको नेतालाई घरभाडा बापत मासिक २० हजार रुपैयाँ दिइन्छ । यस अतिरिक्त निजी सचिवालय बन्दोबस्तका लागि १ हजार ७ सय ५०, सवारी इन्धन मासिक १ सय लिटर, मोबिल ३ महिनामा ५ लिटर, धारा–बिजुलीको १ हजार ५ सय, दैनिक भ्रमणभत्ता प्रतिदिन २ हजार, विदेश जाँदा दैनिक १ सय ५० अमेरिकी डलर र १० लाखको बीमा छ ।

सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलका नेतालाई प्रदेशसभाले सुविधा उपलब्ध गराउँछ । दलका नेताहरूले मासिक ५९ हजार ५ सय तलब, १ हजार बैठक भत्ता, १ हजार ५ सय सञ्चार, आवास बापत १५ हजार रुपैयाँ मासिक, फर्निचरका लागि ५ वर्षको ५० हजार पाउँछन् । यस अतिरिक्त निजी सचिवालयका लागि १ हजार ७ सय ५० रुपैयाँ, सवारी इन्धन मासिक ९० लिटर, मोबिल तीन महिनामा ५ लिटर, धारा–बिजुलीको मासिक १ हजार ५ सय, दैनिक भ्रमणभत्ता २ हजार, विदेश भ्रमण जाँदा १ सय ५० अमेरिकी डलर प्रतिदिन र १० लाखकै बीमा छ ।

गण्डकीमा ४ वटा राजनीतिक दलले दलको नेताको सुविधा पाएका छन् । त्यसमध्ये कांग्रेसका नेता मुख्यमन्त्री छन् भने एमालेका नेता विपक्षी दलका नेता हुन् । त्यसबाहेक माओवादी र राप्रपाले दलको नेताको सुविधा लिएको पाइन्छ ।

दलका उपनेताले ५८ हजार ८ सय ४० मासिक तलब, १ हजार बैठक भत्ता, १ हजार ५ सय सञ्चार खर्च, आवास सुविधा १५ हजार मासिक, फर्निचरको एकमुष्ट ५० हजार, निजी सचिवालय बन्दोबस्त गर्न १ हजार ७ सय ५० प्राप्त गर्दछन् । यस्तै, धारा बिजुलीको १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश जाँदा दैनिक १ सय ५० डलर र १० लाखको बीमा छ । उनीहरू बैठकमा जाँदा प्रतिदिन ७ सय ५० यातायात सुविधा पाउँछन् । गण्डकी प्रदेशसभाका ३ वटा दलले उपनेताको सुविधा लिएका छन् ।

  • सचेतक र समिति सभापतिको सेवा–सुविधा

गण्डकीमा सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतक, समितिका सभापति र दलको प्रमुख सचेतकले समान सेवा–सुविधाको व्यवस्था छ । उनीहरूलाई मासिक तलब ५८ हजार ८ सय ४०, बैठक भत्ता १ हजार, सञ्चार खर्च १ हजार ५ सय, आवासको मासिक १५ हजार, फर्निचरको एकमुष्ट ५० हजार उपलब्ध हुन्छ । यस अतिरिक्त निजी सचिवालयलाई १ हजार ७ सय ५० मासिक, सवारी इन्धन ९० लिटर, मोबिल तीन महिनामा ५ लिटर, बिजुली–धाराको १ हजार ५ सय मासिक, दैनिक भ्रमण भत्ता २ हजार, विदेश जाँदा १ सय ५० डलर र १० लाखको बीमा छ । प्रदेशसभामा प्रमुख सचेतक चारवटै दलका छन् भने ४ जना समितिका सभापति छन् ।

  • गाडी सुविधा

गण्डकीमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलका नेताहरू, सबै दलका प्रमुख सचेतक र समितिका सभापतिहरूलाई गाडी सुविधा छ । त्यतिमात्रै होइन, दलका सचेतक पनि नियुक्त गरिएका छन् । उनीहरूलाई समेत थप सुविधा छ । सचेतकलाई मासिक ५६ हजार ५ सय २० रुपैयाँ तलब उपलब्ध हुन्छ । यस्तै १ हजार बैठक भत्ता, १ हजार ५ सय सञ्चार सुविधा, १५ हजार आवास सुविधा, ५० हजार फर्निचर खर्च, १ हजार २ सय निजी सचिवालय बन्दोबस्त, धारा–बिजुलीको १ हजार ५ सय, दैनिक भ्रमणभत्ता २ हजार, विदेश जाँदा १ सय ५० डलर र १० लाखको बीमा पाउँछन् । गण्डकी प्रदेशसभामा तीन वटा दलले सचेतकको सुविधा पाउँदै आएका छन् ।

  • सांसदको तलब

प्रदेशसभा सदस्यलाई आकर्षक सुविधा छ । उनीहरूलाई मासिक ५४ हजार २ सय तलब, १ हजार बैठक भत्ता, १ हजार ५ सय सञ्चार खर्च, १५ हजार आवास सुविधा, ५० हजार रुपैयाँ फर्निचरबापत एकमुष्ट, १ हजार २ सय निजी सचिवालय बन्दोबस्त, १ हजार ५ सय धारा बिजुली, २ हजार दैनिक भ्रमणभत्ता, विदेश जाँदा १ सय ५० डलर दैनिक र १० लाख बीमा तथा हरेक बैठकमा उपस्थित हुँदा ७ सय ५० रुपैयाँ यातायात सुविधा पाउँछन् ।

पोखरा महानगरपालिकामा घर हुने पदाधिकारी र सांसदहरुलाई आवासको रकम आधामात्रै उपलब्ध गराइएको छ भने दलका सचेतकलाई यातायात खर्च बापत मासिक १० हजार दिइएको छ । संसदीय दलको बैठक सञ्चालन गर्नका लागि प्रत्येक सांसदलाई मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराइएको छ ।

तलब र यातायातसँगै उनीहरुले स्वकीय सचिवको पनि छुट्टै सुविधा पाउँछन् । सभामुख, उपसभामुख र विपक्षी दलको नेताले अधिकृत, नासु र कार्यालय सहयोगी गरी ३ जना भर्ती गर्न पाउँछन् ।

सभामुखलाई अतिथि सत्कारको मासिक १० हजार तथा उपसभामुख र विपक्षी दलका नेतालाई मासिक ५ हजार उपलब्ध गराइएको छ । बाँकी पदाधिकारी र सांसदहरुले नासुु सरहको १÷१ जना स्वकीय सचिव पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप