बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ४ गतेदेखि काभ्रेमा बृहत् कृषि महोत्सव हुने

शुक्रबार, २६ माघ २०८०, १७ : ४१
शुक्रबार, २६ माघ २०८०

काभ्रे । काभ्रेमा आगामी फागुन ४ गतेदेखि कृषि महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा ‘बृहत् कृषि महोत्सव २०८०’ फागुन ४ गतदेखि सुरु हुने भएको हो ।

जिसस काभ्रेले महोत्सवका लागि कृषि महोत्सव मूल आयोजक समिति गठन गरी तयारी अघि बढाइएको छ भने अन्य विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् । महोत्सव बनेपा नगरपालिका वडा नम्बर–८ करुणामार्ग क्षेत्रमा संचालन हुने जनाइएको छ । महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवम् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित सबै स्थानीय तहको सहभागिता रहने छ ।

महोत्सवमा कृषिका नवीनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धी सेमिनार, सूचना प्रविधिमा आधारित नवीनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पूर्ण कर्जा प्रवाह सम्बन्धी स्टलहरु, रैथाने परिकार, हस्तकला एवम् होमस्टे सम्बन्धी प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।

महोत्सवमा कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको सहभागिता गराई कारोबारमा वृद्धि ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवम् औजार उपकरणहरुको प्रदर्शनी मार्फत कृषकहरु बिचमा विकसित नयाँ प्रविधि तथा सामाग्री औजार उपकरणहरुप्रति आकर्षण बढाउन कृषकहरुलाई प्रेरित गरिने छ । उत्पादन लागत घटाउने, उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली र पुशपन्छीहरुको व्यवसायीक उत्पादन, प्रशोधन, बजारीकरणका बारेमा कृषकहरुलाई जानकारी प्रवाह गरिने छ ।  

कोभिड–१९ का कारण उत्पन्न भएको चुनौती र अवसरहरुलाई सामना गर्दै कृषि कार्यको व्यावसायिकरण, यान्त्रीकरण, श्रम परिचालन र आधुनिकिरणमार्फत रोजगारी सिर्जना तथा उत्पादकत्व अभिवृद्धि हुने लक्ष्य रहेको छ । कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागी गराइ कारोबारमा वृद्धि ल्याउने महोत्सवको उद्देश्य रहेको छ ।

फागुन ४ देखि ७ सम्म ४ दिन चल्ने कृषि महोत्सवमा कृषि औजारहरु देखि कृषि उत्पादन, प्रशोधन र बजारीकरणका सामग्रीहरु प्रदर्शन गरिनेछ । महोत्सवमा कृषि क्षेत्रसँग सम्बन्धित २०० वटा स्टलहरु राखिने जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए ।

उनका अनुसार काभ्रेमा कृषि क्षेत्रको सम्भावना प्रचुर रहेकाले किसानहरुलाई उत्साहित र प्रोत्साहन गर्न महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । स्थानीय सरकारले बजेट निर्माणका क्रममा कृषि क्षेत्र र कृषकलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । वर्तमान समयमा काभ्रेका स्थानीय तहले पर्याप्त मात्रामा कृषि क्षेत्रमा बजेट विनियोजन गर्न नसकेको उनको भनाई छ । कृषि महोत्सवले कृषि क्षेत्रमा परिणाममुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख गौतमले बताए । महोत्सवमा १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप