मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मातृत्व अनुभवबारे रेखा : केही डर, नर्भस र केही उत्साह छ (अन्तरवार्ता)

‘नेता जस्तो मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा मलाई रिस उठ्यो’
सोमबार, २९ माघ २०८०, १५ : २२
सोमबार, २९ माघ २०८०

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ ।

अभिनेत्री रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसहित अमेरिकामा छिन् । उनले अमेरिकामै बसेर फिल्मको प्रचारप्रसार गरिरहेकी छन् । यसै परिप्रेक्ष्यमा रेखासँग ‘उपहार’का बारेमा नेपाल न्यूज बैंकका लागि नेमिष गौतमले गरेको कुराकानीको सारसंक्षेप : 

  • तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

अहिले राम्रो छ । आफ्नो स्वास्थ्यको राम्ररी हेरचाह गरिरहेकी छु । परिवारले पनि राम्रो ख्याल गरिरहनुभएको छ ।

  • जीवनमा पहिलोपटक मातृत्वको अनुभव लिँदै हुनुहुन्छ । कस्तो अनुभव हुँदोरहेछ ?

केही डर, नर्भस र केही उत्साह छ । पहिलो पटकको अनुभवले पनि यी कुरा एक महिलाको जीवनमा आउँदा रहेछन् । तर पनि म खुसी छु । किनकि अब नयाँ अनुभव सँगाल्ने दिन नजिकिँदै छ ।

  • फिल्म ‘मालिका’ रिलिजको पाँच वर्षपछि दर्शकमाझ अभिनेत्रीका रूपमा फिल्म ‘उपहार’मार्फत पुनः आउँदै हुनुहुन्छ ? डर वा उत्साह ?

मैले यो बिचमा अभिनेत्रीकै रूपमा फिल्ममा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरेँ । फिल्ममा काम गर्ने सोच त थियो तर बिचमा कोभिड महामारीको लकडाउनले त्यो सोचलाई मूर्त रूप दिन सकिनँ । आधा दशकपछि दर्शकमाझ अभिनयमार्फत आउन पाउँदा निकै रोमाञ्चित छु ।

  • ‘उपहार’ के हो ?

आम दर्शकको बुझाइबाट हेर्दा ‘उपहार’ अमूल्य चिज हो । जसको मूल्य हुँदैन । दर्शकका लागि ‘उपहार’ पनि अमूल्य चिज नै हो । फिल्म दर्शकको मन मस्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । नेपाली फिल्म नियमित हेरिरहनु हुने दर्शकले हाम्रो फिल्म हेर्नु नै हुन्छ । कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई एकपटक अवश्य हेर्नुहुन्छ । फिल्म आम समुदायले हेर्नुपर्छ । हामीले फिल्ममा एक समस्यालाई उठान गरेका छौँ ।

फिल्म ‘मालिका’ बनाइरहँदा अलिक गल्ती गरियो कि भन्ने थियो । तर त्यो फिल्मले मलाई ‘मोटिभेट’ पनि उत्तिकै गरेको थियो । ‘उपहार’ हेरिरहँदा आम मानिसले नयाँ ऊर्जा पाउँछन् ।

नेपाली फिल्ममा एउटै विषयवस्तु मात्र भयो भन्ने पहिल्यै देखिको आरोप सुन्दै र भोग्दै आएका छौँ । अधिकांश फिल्म रोनाधोना किसिमका भए भन्ने पनि सुनेका हौँ । ‘नेपाली फिल्ममेकरले फिल्म बनाउने अरू विषयवस्तु पाउँदैनन् कि क्या हो’ भन्ने कुरा नसुनिएको पनि होइन । त्यसकारण हामीले यी आरोपलाई गलत साबित गर्दै ‘उपहार’मा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौँ । हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा ‘उपहार’मा दर्शकले पाउनुहुनेछ ।

  • तपाईंका अघिल्ला फिल्ममा भन्दा ‘उपहार’को जनरामा केही परिवर्तन छ ?

‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान छन् । मेरो फिल्म भनेपछि नारी सशक्तीकरण अवश्य जोडिन्छ । हाम्रो फिल्ममा नारी मात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको छ । भलै पुरुषले आफ्नो पीडालाई खुलेर भन्दैनन् । ‘उपहार’मा दर्शकले नयाँ कुरा अवश्य पाउनुहुनेछ । ‘उपहार’ले समाज जोड्छ ।

  • उपहार दर्शकका लागि सफलताको उपहार बन्न सक्छ भन्ने आधार के छन् ?

हाम्रो प्रोडक्टलाई दर्शकले स्वीकार्नुहुन्छ भन्नेमा आशावादी छु । हामीले मेहनत गरेका छौँ । ५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौँ । फिल्मको कथा, छायाङ्कन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौँ । दर्शकले तनावमुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ ।

  • ‘उपहार’का अन्य कलाकारसँगको सहकार्य अनुभव ?

नयाँ र केही पुराना पुस्तासँग काम गर्ने मौका मिल्यो । सबै राम्रो काम गर्नुहुन्छ । मैले उहाँहरूको कामलाई गहन तरिकाले हेरिन । उहाँहरूले राम्रो काम गर्नुहुन्छ र गर्नुभएको छ भन्नेमा म ढुक्क छु ।

  • नयाँ कलाकारमा स्टारडमको घमन्ड देख्नुभयो या भविष्य ?

साँचो कुरा गर्नुपर्दा उहाँहरूमा मैले त्यस्तो केही देखिन । उहाँहरू मेहनती हुनुहुन्छ । उहाँहरूमा घमन्ड भन्दा पनि संघर्ष गरेर भविष्य बनाउन सकिन्छ भन्ने अवसर देखेँ ।

  • फिल्म रिलिजको समय नजिकिँदै छ । फिल्म प्रमोसनको दौडधुपलाई कत्तिको ‘मिस’ गरिरहनुभएको छ ?

मैले अमेरिकाबाट पनि अन्तरवार्ता दिइरहेकी छु । भौतिक रूपमा नेपालबाट टाढा भए पनि प्रविधिको हिसाबले नेपालसँग नजिक छु । त्यहाँका पत्रकार साथीभाइहरूसँग प्रत्यक्ष अन्तरक्रिया, गफगाफ चाहिँ ‘मिस’ गरिरहेकी छु । फिल्म युनिटलाई पनि उत्तिकै सम्झिइरहेकी छु ।

  • विवाह र सन्तान प्राप्तिपछि अभिनेत्रीको करियरबारे प्रश्न उठ्छ । विवाहपछि तपाईंको करियर चम्कियो । सन्तान प्राप्तिपछि करियरले निरन्तरता पाउला ?

यो पुरुषवादी चिन्तन हो । महिलाले चाहँदैमा करियर रोकिने होइन । सन्तान, विवाह इच्छा विपरीतको कर्म होइन । म ‘उपहार’ पछि नयाँ प्रोजेक्ट गर्दैछु । त्यसको तयारी पनि भइरहेको छ । करियरको निरन्तरता कसैको इच्छा विपरीत हुँदैन । मेरो निरन्तरता कायमै हुनेछ । 

  • बेबी प्लानसहित तपाईं अमेरिका उड्दा तपाईंको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आलोचना गर्नुभयो । रिस त पक्कै उठ्यो होला नि ?

अरूले भन्दा रिस उठेको थिएन । किनकि उनीहरूले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरूले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो । म देश बिग्रियो भनेर अमेरिका आएको होइन । नेपाल सम्भावना बोकेको देश हो । नेताले स्वास्थ्य लाभको कामना गर्नुपर्नेमा उल्टै आलोचना गरे । उनले पार्टीको अध्यक्षको हैसियत देखाए । सन्तान जन्माउने समय एउटा महिलाका लागि ठुलो प्रतीक्षाको घडी हो । यस्तो बेला शत्रुले पनि स्वास्थ्य लाभको कामना गर्छ । यिनै अर्काको नाममा रोटी सेक्ने र अरूलाई गाली गर्नेले देश बिगारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप