सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली नोट

कसले ल्यायो झन्डै २ करोड बराबरको नक्कली नोट ?

नोटको धन्दा गर्नेहरूको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु
मङ्गलबार, ०१ फागुन २०८०, १८ : २४
मङ्गलबार, ०१ फागुन २०८०

विराटनगर । सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरू र उनीहरूको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु भएको हो । 

प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुर बस्ने २२ वर्षीय छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । साफीले चलाएको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त रकम फेला पारेको थियो । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् । 

प्रहरीले ठुलो परिणाममा नेपाली नक्कली नोटसहित भारतीय नागरिक र भारतीय नम्बर प्लेटको स्कारपियो नियन्त्रणमा लिएको भए पनि नोट कहाँबाट आयो र कसले ल्यायो भन्ने विषयमा भने खुलेको छैन । 

पक्राउ परेका भारतीय नागरिकले योजनाबद्ध तरिकाबाट मधेस प्रदेशको सप्तरीमा पर्ने कुनौली नाका हुँदै गाडीमा नोट नेपाल ल्याइएको हुनसक्ने सुरक्षा स्रोतको दाबी छ । यद्यपि सुनसरी प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएको भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको भन्सार अनुमति फेला परेकोले थप शङ्कास्पद देखिएको छ । सुनसरीको सीमासँग जोडिएको बीरपुरकै नागरिक पक्राउ पर्नु र बरामद गरिएको भारतीय नम्बर प्लेटको गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको अनुमति लिएको फेला पर्नुले सुनसरीकै नाकाबाट नोट ल्याएको अनुमान पनि छ ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो ।

सुनसरीको भण्टाबारी नाकाबाट मात्रै सवारी साधन आवतजावत हुँदै आएको अवस्था छ । भारतमा छपाई गरी विभिन्न सीमा नाका हुँदै सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्टक गरेर एकैपटक ठुलो परिमाणमा नोट लगिएको हुनसक्ने अनुसन्धानमा संलग्न सुरक्षाकर्मी बताउँछन् । ठुलो परिमाणमा नक्कली नोट बरामद हुनुले बजारमा समेत त्यस्ता नोट पुगिसकेको हुनसक्ने आशङ्का गरिएको छ । पछिल्लो समय बारम्बार नक्कली नोट बरामद भइरहेको छ । भारतका आधुनिक प्रेसमा छापेरसमेत नेपालमा नक्कली नोटको कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । २०७९ भदौ २६ गते झापा बिर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहे पनि बिर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो । प्रहरीले २०८० वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गरेको थियो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । यस्तै प्रहरीले २०७९ फागुन २४ गते उदयपुरको कटारी नगरपालिका १२ बाट ५ सय दरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो ।

विगत दुई वर्षमा भएका यी घटनाहरूले नक्कली नोटको धन्दा लामो समयदेखि चलिरहेको देखाउँछ । विगत वर्षहरूमा पनि नक्कली नोट लिएर आउने बाहकहरू पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोहको जालो तोड्न भने प्रहरीले सकेको छैन । 

नक्कली नोटमा एनआईसी एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिँ देखिएको छैन,’ उनले भने । 

प्रहरीका अनुसार गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिणाम अहिलेसम्मकै ठुलो हो । यसको कनेक्सन खोजिरहेको प्रहरी अधिकारीहरू नै बताउँछन् । ‘भारतीय मानिसहरू पनि संलग्न भएको कारण नक्कली नोटको कारोबारमा अन्तर्राष्ट्रिय कनेक्सन रहेको भन्नेलाई अप्ठ्यारो भएन,’ एक सुरक्षा अधिकारीले भने । 

अहिले पनि प्रहरी अनुसन्धान र खोजीमा लागिरहेको उनले बताए । ‘अरू केही कुरा दुई चार दिनमा सार्वजनिक हुन्छ । केही मानिसहरूको पहिचान भइसकेको छ । उनीहरूलाई हामी खोजी गरिरहेका छौँ,’ उनले भने । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको प्रहरी स्रोत बताउँछ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । ‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएको छ,’ उनले भने । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले पनि अनुसन्धान गम्भीर ढंगले गरिरहेको बताए । ‘नक्कली नोटको विषयमा हामी गम्भीरतापूर्वक गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौँ । केही समय पछाडि हामी डिटेल जानकारी गराउँला,’ उनले भने, ‘केही अरू मानिसको पनि संलग्नता देखिएको छ । हामी फलो गरिरहेका छौँ । प्रदेशको टोली र हेडक्वार्टरको टोलीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ । यो गम्भीर खालको इस्यू छ ।’ नक्कली नोटमा एनआईसी एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिँ देखिएको छैन,’ उनले भने । 

नक्कली नोटको कारोबारीबारे विगतदेखि नै अनुसन्धानको रूपमा रहेको केस हो । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे उसको विश्वसनीयतामा प्रश्न उठ्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप