सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल प्रचण्डको विकल्प छैन : उपमहासचिव यादव

बुधबार, ०२ फागुन २०८०, १० : ५६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादवले तत्काल प्रचण्डको विकल्प नभएको बताएका छन् । मुख्य विषय पार्टीलाई क्रान्तिको साधन बनाउने कि नेताहरूको व्यवस्थापन गर्ने भन्नेमा बहस केन्द्रित हुनुपर्ने उनको जोड छ । वर्षाै जमेको पोखरीलाई चार महिने अभियानले ठिक ठाउँमा ल्याउन मद्दत गरेको यादवको बुझाइ छ ।

‘अहिले प्रचण्डको विकल्प छैन । वर्षौं जमेको पोखरीलाई अभियानले ठिक ठाउँमा ल्याएको छ । तर हाम्रो आचरण मुख्यतः पार्टीलाई क्रान्तिको साधन बनाउने कि नेताहरूको व्यवस्थापनको साधन बनाउने भन्नेमा बहस केन्द्रित छ’ उनले भने, ‘जबसम्म क्रान्तिको साधन बनाउँदैन तबसम्म यस्तै चलिरहन्छ । अहिले अध्यक्ष कमरेडले क्रान्तिको साधन बनाऔँ भन्नुभएको छ । हामी सबैको जोड पनि पार्टीलाई क्रान्तिको साधन बनाऔँ भन्ने छ ।’

प्रस्तावित मस्यौदा विधानमा प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउने कि समितिले पदाधिकारी चुन्ने भन्ने विषयमा गम्भीर बहस भइरहेको उनले बताए । ‘प्रत्यक्षमा जाने कि नजाने भन्नेमा हाम्रोमा बहस छ । कतिपयको सबै समितिमा चुनाव हुनुपर्छ भन्ने छ । कतिपयको मत समिति बनाउने, त्यसले पदाधिकारी चुन्ने भन्नेमा छ । मेरो विचारमा कार्यकर्ताहरूले नै चुन्नुपर्छ’, मस्यौदामाथि आफ्नो अभिमत राख्दै रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘माथिबाट टिका लगाउने काम गर्नु हुँदैन । यस्तो भएमा ठिक उम्मेदवार छनोट हुन्छ । कतिपय ठाउँमा गडबड हुनसक्छ । त्यसलाई माथिबाट नियन्त्रण गर्नुपर्छ ।’

पावर र पैसाको बलमा गलत मान्छेले टिकट पाउने, कार्यकर्ताले नचिन्ने नेता चुन्ने व्यवस्था खारेज गर्नुपर्ने यादवको भनाइ छ । बिहीबारसम्म चल्ने अधिवेशनमा मस्यौदामाथि २० समूहबाट आएका सुझावलाई टोली नेताले हलमा पेस गर्ने कार्यसूची रहेको छ । आएका सुझावलाई अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बिहीबार अधिवेशन सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप