बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले अपराध गर्‍यो : वामदेव गौतम

बुधबार, ०२ फागुन २०८०, १८ : ०१
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गरेको आरोप लगाएका छन् ।  

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उनको जिकिर थियो ।

बुधवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई वैधानिकता दिएकाले त्यसको भागीदार आफैँ बन्नुपर्ने समेत बताए । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्त्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाई थियो । उनले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराए ।

उनले भने,  ‘अहिले भएको गठबन्धन अगाडि निर्वाचन आयोगले आत्मसमर्पण गरेको छ । र यसमा कसैले मुद्दा हालेको छैन । र यो वास्तवमा दण्डनीय अपराध भएको छ । गलत व्याख्या गरियो । अब एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विषय पनि के हो भने नजिर बसिसकेपछि कानुनमा दोधार चाहिँ हुन सक्दैन । २०७२ सालको राष्ट्रपति निर्वाचनमा नजिर बसिसकेको छ । संविधानमा वा भनिएको व्यवस्था के हो भन्दा एक जना पुरुष र एक जना महिला हुनैपर्छ । त्यसमध्ये एउटा फरक समुदायको हुनुपर्छ भन्ने हो । महिला र पुरुष अनिवार्य छ । तर यो दुई वटामध्ये एउटै समुदायको हुनु हुँदैन । दुई वटा समुदायको हुनुपर्छ भन्ने हो । र त्यो नजिर बसिसकेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले नै त्यो निर्वाचन गरायो । त्यसो हुँदाखेरी निर्वाचन आयोग त्यसको भागी छ । कुनै बेला हामीले मूल्यांकन गर्दाखेरी इतिहासमा उल्लेख हुँदाखेरी पनि निर्वाचन आयोगले ध्यान दिएन । अन्धो भयो ।’

सांसद गौतमले निर्वाचन प्रणालीमा पनि थुप्रै त्रुटिहरु रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप