सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास जग्गा प्रकरण

विजय गच्छदार : एउटा मुद्दामा सफाइ, अर्को के होला ?

सोही प्रकरणमा ठगी र किर्तेमा सीआइबीले गरेको अनुसन्धान र मुद्दामा उनले सफाइ पाउलान् ?
शुक्रबार, ०४ फागुन २०८०, १६ : ००
शुक्रबार, ०४ फागुन २०८०

विराटनगर । पटक पटक मन्त्री बन्ने र विजयको रेकर्ड बनाउँदै आएका ७० वर्षीय विजयकुमार गच्छदारले विगत ४ वर्षयतादेखि झेलिरहेको एउटा तनावको अन्त्य भएको छ । उनको तनावको मुख्य मुद्दा थियो ‘ललिता निवास जग्गा घोटाला प्रकरण ।’ उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको थियो । 

२०७९ साल मङ्सिर ४ मा भएको निर्वाचन उनी पराजित बन्नुको एउटा कारण सोही मुद्दा पनि हो । चुनाव अघि उनले चुनावी भाषणमा भक्कानिँदै भन्ने गरेका थिए, ‘मलाई जनताले पनि न्याय दिनुपर्छ । म जनताको अदालतमा ६ चोटि मात्रै होइन ७ चोटि आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु...।’ तर, जनताले उनलाई भोट दिएर न्याय गरेनन् । उनलाई भन्दा बढी एमालेकी उम्मेदवार भगवती चौधरीलाई मत दिएर जिताइ दिए । उता, अदालतले भने गच्छदारलाई चुनाव सकिएको १५ महिनापछि सफाइ दिएको छ । 

विशेष अदालतले बिहीबार गरेको फैसला अनुसार ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्ट्राचार भएको ठहर गर्दै त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको हो चार वर्षअघि दर्ता भएको ललिता निवास जग्गा अनियमितता प्रकरणमा एक महिनादेखि विशेष अदालतमा सुनुवाइ भइरहेको थियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध मुद्दा दायर गरेको थियो थियो भने तहतह गरी जग्गा किनेका ६५ जनामाथि जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको थियो ।

विजय गच्छदार २०२७ सालमा जेल परेका थिए । उनले ४८ सालपछि ६ पटकसम्म चुनाव जिते । पटक पटक मन्त्री बने । तर, पछिल्लो निर्वाचनमा पराजित बनेका उनी यही मुद्दाका कारण गुमनाम जस्तै बनेका थिए । उनका समर्थकहरू गच्छदारले सफाइ पाएपछि खुसी मनाइरहेका छन् । उनको गुमेको राजनीतिक साख फेरि फर्कने उनीहरूको विश्वास छ । स्वयम् गच्छदारले पनि आफूले ८९ सालमा मात्रै राजनीतिक विश्राम लिने बताउने गरेका छन् । निर्वाचनमा आफू पराजित भए लगत्तै विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भनेका थिए, ‘म त भर्खरै ६९ वर्ष भएँ । ७७ वर्ष पुग्न त अझै ८ वर्ष लाग्छ । म ठ्याक्कै तपाईँलाई भन्छु २०८९ मा म रिटायरमेन्ट हुन्छु । मैले ७ पटक चुनाव लड्दा भर्खरै १ पटक न पराजय व्यहोरेको हुँ ।’  

तर, गच्छदारले राजनीतिमा पुनः कमब्याक हुनका लागि अदालतको एउटा फैसला मात्रै काफी हुँदैन । किनकी यही प्रकरणमा गच्छदार विरुद्ध ठगी तथा किर्तेमा काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप