सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेश प्रदेश सरकारले ६ गते विश्वासको मत लिँदै

शुक्रबार, ०४ फागुन २०८०, १३ : ३७
शुक्रबार, ०४ फागुन २०८०

वीरगन्ज । मधेश प्रदेश सरकारले फागुन ६ गते विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी दलहरुमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने संवैधानिक प्रावधान छ । 

सोही व्यवस्था अन्तर्गत मधेश प्रदेश सरकार गठन भएको २७ औँ दिनमा  मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिन लागेको प्रदेशसभा कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवले आइतबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी भएको पुष्टि गरे ।  रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारमा सहभागी दलहरुसँग छलफल गरेर विश्वासको मत लिने समय तोकिएको छ, त्यसका लागि त्यही दिन बिहान दलको बैठकमा डाकिएको छ । अनि दिउँसो विश्वासको मत लिइन्छ ।’

अहिले कांग्रेस, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा मात्रै सरकारमा सहभागी छन् । मधेश प्रदेश सरकार गठन हुँदा समर्थन गरेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।  मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सहभागी दलहरुको अंक गणितीय हिसाब अझै पनि बहुमत देखिन्छ । 

प्रदेशसभामा कांग्रेसको २२, जसपाको १८, माओवादी केन्द्रको ९, लोसपाको ९ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् ।  यो हिसाबले प्रदेशसभामा सत्ता गठबन्धनकै ६५ जना सांसद छन्, जुन बहुमतका लागि पर्याप्त छ । प्रदेशसभामा ५४ मत प्राप्त गर्नेले सरकारको नेतृत्व गर्न पाउँछन् । प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य रहेक छन् ।

माघ ९ गते जनमतका दुई मन्त्री सरकारबाट बाहिरिएका थिए । त्यसैले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी बाध्यता छ । आइतबार विश्वासको मत लिनेगरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार नै पत्र पठाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप