शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्धविश्वास

मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइयो, झाँक्री पक्राउ

शुक्रबार, ०४ फागुन २०८०, १४ : २६
शुक्रबार, ०४ फागुन २०८०

विराटनगर । मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो । 

पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । 

पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।  

उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । ‘यस्तो काम बोक्सीबाहेक अरूले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो,’ उनले भने । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए । 

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् । 

धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिने डीएसपी दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप