सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

के नेपालको अर्थतन्त्र भताभुंग भइसकेको हो ?

शुक्रबार, ०४ फागुन २०८०, १५ : ०५
शुक्रबार, ०४ फागुन २०८०

पोखरा । कोरोना संक्रमणपछि देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । व्यापार व्यवसायमा मन्दी छ । 

तर अर्थतन्त्रका जानकारहरुले चाहिँ अर्थतन्त्रमा सुधार भइरहेको दाबी गरेका छन् । व्यवसायी निरञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र २ दशकदेखि नै कमजोर हुँदै र तङ्ग्रिँदै चलेको बताए । ‘एक समय धरमराउने अनि फेरि उठ्ने । विगत २ दशकदेखि नेपालको अर्थतन्त्र यसरी नै चलिरहेको छ,’ उनले भने, ‘ठोस रुपमा हामीले केही गरेनौँ भने यस्तो समस्या तत्काल समाधान हुने अवस्था छैन ।’ निजी क्षेत्र निराश भएको अवस्थामा सरकारले आसा जगाउने कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिए ।

बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने श्रेष्ठ सुनाउँछन् । ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ,’ उनले भने, ‘बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम् पुँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो । बैंकमा पुँजी छ भने पनि लगानी गर्न हिच्किचाउँछन् ।’

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा गुणाकर भट्ट अर्थतन्त्र बिग्रिएर पनि सुधारको बाटोमा रहेको बताउँछन् । ‘गतवर्ष पुसमा हामीसँग विदेशी विनिमय सञ्चिति १० अर्ब २८ करोड डलर थियो । अहिले १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिति छ,’ उनले भने, ‘त्यसले १ वर्षभन्दा बढीको बस्तु तथा सेवा आयत गर्न पुग्छ । २ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो । हामी त्यहाँबाट माथि उठेको अवस्था छ ।’

उनले कर्जा दिने पैसा नभएको अवस्थाबाट बैंकको अवस्था सामान्य भइसकेको बताए । ‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ । ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रका जानकार भट्ट भन्छन्, ‘मौद्रिक क्षेत्र, वित्तीय क्षेत्रमा राम्रो अवस्था देखिएको छ । गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाह गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाह १९३ अर्ब पुगेको छ ।’

यस्तै अर्थन्त्रणका विज्ञ भुवन दाहाल चाहिँ निक्षेप संकलन अनुसार कर्जा प्रवाह नभएकोमा दुखी छन् । अर्थशास्त्रमा समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा प्रभाव देखिने उनले बताए । ‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन,’ उनले भने, ‘निजी क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकरणमा लाग्नुपर्नेछ ।’

पोखरामा जारी नेपाल लिटरेचर फेष्टिभलमा अर्थतन्त्रबारे गहिरो चिन्तन गरिएको छ । अहिलेको अर्थतन्त्र ‘तङिग्रन्छ कि लड्छ’ शीर्षकमा बहस गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप