आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

दुधको पैसा असोजदेखि रोकिँदा किसानहरू मारमा

शुक्रबार, ०४ फागुन २०८०, १८ : ३२
शुक्रबार, ०४ फागुन २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, शंकरनगरका त्रिलोचन पाण्डेयको गोठमा४ वटा भैँसी छन् । ५२ वर्षीय पाण्डेयले दैनिक झन्डै ६० लिटर दुध तिलोत्तमा–८ मा रहेको कस्तुरी दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् ।

फागुन १ गतेदेखि संस्थाले दुध लिन छाडेपछि के गर्ने भन्ने अन्योलमा छन् पाण्डे । बिहान बेलुका दुध बिक्री गरेर छोराछोरी पढाउने र घर खर्च चलाउने गरेका पाण्डेयले दुग्ध विकास संस्थान (डीडीसी)ले दुध लिन छाडेपछि स्थानीय संस्थाले दुध संकलन गर्न छाडेको रातोपाटीलाई बताए ।

बुटवलस्थित दुग्ध विकास संस्थान लुम्बिनीले ट्याङ्करमार्फत कपिलवस्तुदेखि पूर्व नवलपरासीसम्मका किसानहरूको दुध संकलन गर्ने गर्दछ । किसानहरूसँग स्थानीय सहकारीले दुध संकलन गर्ने र ती सहकारीबाट डीडीसीले दुध ल्याउने गरेको छ ।

डीडीसीको संकलन केन्द्र रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम, अमुवा, नवलपरासीको बासा, सुनवल, गुल्मीको वलेटक्सार, कपिलवस्तुको चन्द्रौटा र महाराजगन्जमा छन् । ती संकलन केन्द्रबाट दैनिक १५ हजार लिटरभन्दा बढी दुध संकलन अहिले रोकिएको छ ।

डीडीसी लुम्बिनीले संकलन गरेको दुधमध्ये ३ हजार लिटर आफूले खपत गर्ने र बाँकी चितवन, पोखरा लगायतका निजी उद्योगमा बिक्री गर्ने गर्दछ । पछिल्लो समय तीमध्ये केही उद्योग बन्द रहेको र केही मेसिन बिग्रिएको कारण देखाउँदै डीडीसीले लुम्बिनीका किसानबाट दुध संकलनमा रोक लगाएको हो ।

दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले शुक्रबारदेखि केही परिमाण कटौती गरेर दुध संकलन गरिने रातोपाटीलाई बताए । उनले ८ वटा संकलन केन्द्रमध्ये ४ वटाबाट संकलन गर्न लागिएको जानकारी दिए ।

किसानलाई १० करोड तिर्न बाँकी

रुपन्देहीको कस्तुरी सहकारीले दुग्ध विकास संस्थान, लुम्बिनी बुटवललाई  दैनिक ४ सय लिटर दुध पठाउने गर्दछ । किसानसँग खरिद गरेर पठाएको दुधको रकम पाउन भने सकस भइरहेको संस्थाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको डीडीसीले केही वर्ष अगाडिसम्म खरिद गरेको दुधको रकम तुरुन्तै दिने गर्दथ्यो । पछिल्लो समय दुधको रकम भुक्तानी बाँकी राख्न थाल्यो । कस्तुरी सहकारीले अहिले डीडीसीसँग ६लाख रुपैयाँ लिन बाँकी छ ।

सहकारीका व्यवस्थापक अर्जुन भण्डारीले असोजदेखि पैसा रोकिँदा अहिले ६ लाख रुपैयाँ लिन बाँकी रहेको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले सबै दुध डीडीसीलाई दिँदा समस्या हुन थाल्यो । महिनौँसम्म रकम रोकिँदा किसानलाई पैसा दिन समस्या भयो ।’

पछिल्लो समय सहकारीमा ऋण लिएर आफूहरूले किसानको भुक्तानी गरेको उनको भनाइ छ ।

दुग्ध विकास संस्थान लुम्बिनीले कस्तुरी सहकारीजस्ता लुम्बिनीका ६० वटा सहकारीलाई दुधको भुक्तानी दिन बाँकी छ । दुग्ध सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले डीडीसीले भुक्तानी रोक्दा किसानलाई दुधको रकम तिर्न समस्या भइरहेको बताए ।

सरकारी स्वामित्वमा रहेको डीडीसीले भुक्तानी रोक्दा किसानहरु मारमा परेको रुपन्देही डेरी व्यवसायी समितिका पूर्व अध्यक्ष गणेशसिंह भण्डारीले बताए ।

दुध व्यवस्थापन गर्ने जिम्मा लिएर बसेकाहरूले नै एकाएक दुध संकलन रोक्ने, उत्पादनको १०÷२० प्रतिशतमात्र दुध संकलन गर्ने गर्दा किसानलाई घाटा हुने गरेको उनले सुनाए ।

ठुला फर्म भएका किसानले निजी डेरी उद्योगमा दुध बिक्री गर्दै आएका छन् । साना किसानहरू भने डीडीसीका लागि संकलन केन्द्रका रुपमा रहेका विभिन्न सहकारीमा दुध बिक्री गर्दै आएका छन् । दुध संकलन रोकिँदा र उत्पादन भएका सबै दुधले बजार नपाउँदा साना किसान मारमा परेका छन् ।

दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले अहिले दुध खरिद गरेबापत १० करोड रुपैयाँ तिर्न बाँकी रहेको रातोपाटीलाई बताए ।

उनले असोजदेखि माघसम्म विभिन्न दुग्ध उत्पादक किसानलाई भुक्तानी दिन बाँकी रहेको खुलाए । आफूहरूले संकलन गरेको दुध ७५ प्रतिशतभन्दा धेरै पाउडर र मक्खन बनाउन प्रयोग हुने प्रस्ट पारे । पाउडर दुध र मक्खनको सिजन भएकाले अब भने ती वस्तुको बिक्री बढ्ने र किसानको रकम भुक्तानी गर्न सहज हुने उनको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप