आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जय बागेश्वरीमा परम्परागत सामूहिक वादन तथा नृत्य ग्वलः अर्केष्ट्र

शनिबार, ०५ फागुन २०८०, २२ : ४५
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । आज जय बागेश्वरीमा परम्परागत वाद्यवादनको सामूहिक प्रस्तुति ‘ग्वलः अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वलः बाजँ खलःले संयुक्त आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो । 

अर्केष्ट्रामा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत वाद्य समूहले सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा बजाइने धिमे (ठुलो/सानो), पछिमा, खिँ, क्वचा खिँ, नय खिँ, धाः, मादल, पोङ्गा, बाँसुरी (घोर/मझवाल/तिप चाः) लगायत बाजागाजाका धुन प्रस्तुत गरे । यस्तै भुस्या, छुस्या, ता, बबैचा, चिम्टा, घाङ्गल, ताइनादे चाः का विभिन्न बोल र ताल बजाइएका थिए । यस्तै अहिले चलेका विभिन्न गीतका धुन पनि बजाइएको थियो । 

यसरी बजाइएका बोल तथा तालमा लाखे नाच, रोपाइँ जात्रा, खड्ग जात्रा, दाफा भजन प्रस्तुत गरिएको थियो ।  छालाबाट बनेका र धातुका बाजाहरू नेवार समुदायभित्र प्रचलित छन् । कार्यक्रममा राजेश संगतले लेख्नुभएको धिमे बोल लिपी ‘धिम्य या बोल’ पुस्तक सार्वजनिक गरियो । 

त्यसक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भनिन्– ‘काठमाडौँको चिनारी भनेकै टोल, मठमन्दिर, जात्रा पर्वसँग सम्बन्धित आफ्ना आफ्ना बाजागाजा हुनु, वाद्य शैली राग तथा ताल हुनु हो । यो मौलिकपन संसारभर विरलै पाइन्छ । परम्परागत वाद्यवादनमा युवा पुस्तालाई आकर्षित गराउन  र पुस्तान्तरण गराउन वडाले थालेको प्रयास सराहनीय छ ।’ 

उनले पुस्तकमाथि चर्चा गर्दै भनिन्, ‘जनश्रुति र कथ्य माध्यमबाट पुस्तान्तरण हुने गरेको हाम्रो मौलिक परम्परा अब अभिलेखनबाट पुस्तामा सार्न थालिएको छ । यो महत्त्वपूर्ण काम हो ।’

कार्यक्रमका संयोजक, वडा नंं ८ का अध्यक्ष एवम् सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाको पूर्वी क्षेत्रलाई ग्वलःको देश (ग्वलः दे) भन्न रुचाउने बताए ।

उनले भने, ‘यो थालनी हरेक वडा वडामा विस्तार हुने आशा लिएको छु । यसबाट अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्छ भने पर्यटन प्रवर्द्धनका लागि योगदान हुन्छ ।’

ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्ति पीठ, ९ वटा पाटी पौवा, ९ वटा डबली, ९ वटा टोल र ९ थरी जात छन् । अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित थिए । बाद्यवादनसँगै कार्यक्रममा श्री गुरु नित्यनाथ बाजः खल, नर थतुत्वा नास खल र ग्वल बाज खलले परम्परागत नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा स्थानीय मौलिक खाना तथा परिकारहरूका स्टलहरू राखिएका थिए । परम्परागत बाजागाजाका वाद्य शैलीमा युवा पुस्तालाई सहभागी गराउने, संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप