शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मुख्यमन्त्री यादवको सरकारलाई एमाले र जनमतले विश्वासको मत नदिने

आइतबार, ०६ फागुन २०८०, १३ : ४४
आइतबार, ०६ फागुन २०८०

वीरगन्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारलाई गठबन्धन बाहेकका दलले विश्वासको मत नदिने तयारी गरेको स्रोतले जनाएको छ । 

जनमत पार्टीले ९ माघमा सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि विश्वासको मत लिने प्रावधान अनुसार मधेश प्रदेश सरकारले आज तेस्रो पटक विश्वासको मत लिन लागेको हो ।  एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारी गरेको स्रोतको दाबी छ । 

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री यादवको सरकारलाई एमालेले विश्वासको मत नदिने सम्भावना प्रबल रहेको बताए ।  रातोपाटीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता यादवले भने, ‘अहिलेसम्म विश्वासको मत दिने एमालेले आधार पाएको छैन, मुख्यमन्त्रीले विश्वासको मत माग्दा हामीले खोजेको आधारको सम्बोधन नहुने भएकोले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिने न्यून सम्भावना छ ।’ 

जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पनि आफ्नो  पार्टीले विश्वासको मतमा विपक्षमा उभिने बताए । उनका अनुसार जनमत पार्टी सरकारबाट बाहिरिएको हुनाले मुख्यमन्त्री सरोज यादवको सरकारलाई कुनै किसिमको समर्थन पार्टीको रहने छैन । 

उनले भने, ‘हामीले शुक्रवार नै बैठक गरेर यो बारेमा निर्णय लिइसकेका छौ, त्यो निर्णय बमोजिम हामी सरकारको विपक्षमा खडा हुनेछौ ।’ तेस्रो पटक लिन लागिएको विश्वासको मतमा अहिलेसम्म २ वटा दलले विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

एमाले र जनमत पार्टीले विपक्षमा मतदान गर्दा पनि सरकारले पर्याप्त बहुमत पाउने प्रदेश सभाको अंक गणितीय हिसाब छ ।  मधेश प्रदेशमा सभामुखबाहेक एमालेको २३ र जनमत पार्टीको १३ सिट सङ्ख्या छ, जुन अहिलेसम्म विश्वासको मत नदिने सङ्ख्या हो । 

मधेश प्रदेश सरकारमा रहेका दलहरू कांग्रेस,जसपा,माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको प्रदेश सांसदबाटै मुख्यमन्त्री यादवलाई चाहिने बहुमतभन्दा बढी विश्वासको मत प्राप्त भइरहेको छ ।  सरकार चलाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ प्रदेश सांसदको समर्थनको आवश्यकता छ । यद्यपि सत्ता गठबन्धन दलबाटै मुख्यमन्त्रीले ६५ प्रदेश सांसदको समर्थन पाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप