पुरानै सहमतिअनुसार रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो ।
ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी सञ्जय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
बैठक लगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनै सुरक्षा निकायका डीआईजी, पार्टीका प्रतिनिधि सम्मिलित टोली पुगेर चार दिनदेखि थन्किएको मूर्ति बिसर्जन गरेको हो ।
यस अघि संघीय संसद किरण कुमार साहको पहल तथा प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार मूर्ति विसर्जन गरिएको हो ।
शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका केही व्यक्ति घाइते भएका थिए ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियो । आइतबार पनि कर्फ्यु जारी रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख