मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, ०७ फागुन २०८०, २२ : ०९
सोमबार, ०७ फागुन २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने बताएका छन् । चलचित्रले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उनले बताए ।

हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको समापन गर्दै मुख्यमन्त्री जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । कला संस्कृतिको क्षेत्रमा काम गर्न र सरकारले गरेको लगानी खेर जान नदिन नीति निर्माणमा अग्रसरता देखाएको उनको भनाई छ ।

‘चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ । गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिन्छ । प्रदेश सरकारले चलचित्र क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको छ । प्रदेश सरकारलाई नीति नहुँदा काम गर्न समस्या भएको थियो,’ उनले भने, ‘संस्कृति संरक्षणका लागि प्रदेश सरकारले केही काम गर्ने गरी काम अघि बढाएको छ । सरकारले विकास निर्माण तथा समृद्धिका लागि ५ वर्षे नीति निर्माण गरेर अघि बढेको छ । प्रदेश सरकारले खासखास क्षेत्रमा रुपान्तरणकारी काम गर्नेगरी अघि बढेको छ । राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई प्रशासनिक र आर्थिक अधिकार दिने गरी सञ्चार रजिष्ट्रारलाई जिम्मेवारी दिइएको छ ।’

मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालीन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहलसहित बजेट विनियोजन गरेको बताए । तर, विविध कारणले हुन नसकेको उनको भनाई छ । उनका अनुसार दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ ।

उनले चलचित्र ऐन बनाउन प्रदेश सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको बताए । आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले सो विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । अहिले नेतृत्वमा रहेका व्यक्तिहरु नै निराशा व्यक्त गरिरहेका उनको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको बताए । चलचित्र लेखनका लागि प्रदेश सरकारले पटकथा लेखन तालिम संचालन गरी सहयोग गर्ने काम अघि बढाएको उनको भनाई छ ।  

कार्यक्रममा चलचित्र पत्रकारिता तथा फिचर लेखन कार्यशालामा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप