सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय तह

ग्रामथान गाउँपालिकाका अध्यक्ष एक महिनादेखि अर्धचेत, उपचुनाव गराउन कांग्रेसभित्र चर्चा

कांग्रेसबाट निर्वाचित अध्यक्ष बेहोस भएपछि एमालेबाट निर्वाचित उपाध्यक्षले कार्यवाहक चलाउँदै
मङ्गलबार, ०८ फागुन २०८०, ०६ : ४०
मङ्गलबार, ०८ फागुन २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा अचानक बेहोस भएर अस्पताल भर्ना भएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु अझै अर्धचेत अवस्थामा छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको पालिकाको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन विराटनगरको इस्टर्न स्टार होटलमा सहभागी भएका थारु माघ १० गते साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेपछि तत्काल नोबेल अस्पतालमा भर्ना गरिएको थियो । होटलमा खाना खाने लाइनमा बसेका उनी एक्कासि ढलेपछि कांग्रेसका नेताहरूले गाडीमा नोबेल अस्पतालमा उपचारका लागि लगेका थिए । 

गच्छदार अर्धचेतअवस्थामा रहेको कारण पालिककाकी उपाध्यक्ष गुणावती थारुले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । कांग्रेस मोरङका उपसभापति भक्ति माझीले हाल गच्छदार उपचाररत रहेको र अवस्था जटिल नै रहेको बताए । ‘नोबेल अस्पतालमा उपचार गराइरहनु भएको छ । बोल्ने अवस्था छैन । सेन्स चाहिं छ । अलिअलि आँखा हेर्नुहुन्छ । मुस्किलले रेस्पोन्स चाहिँ हुन्छ । रिकोभर हुने कुरा नै डाक्टरहरूले गर्नुभएको छ,’ माझीले भने । 

स्रोतले भने कांग्रेसभित्र उनलाई राजीनामा गराएर पुनः निर्वाचन गराउनु पर्ने बारे छलफल सुरु भएको छ । यस्तो छलफल भएको विषयलाई उपसभापति माझीले पनि अस्वीकार भने गरेनन् । ‘छलफल र चर्चा त हुन्छ नै । तर, एक महिना, दुई महिना नै उहाँको स्वास्थ्य उपचार मै ध्यान दिनुपर्छ । अहिले नै राजीनामा दिनु भन्ने कुरा उपर्युक्त होइन,’ उनले भने, ‘सबै परिस्थिति हेरेर, डाक्टरहरूको रिपोर्ट हेरेर, काम गर्न नसक्ने अवस्था नै हो भने विकल्पमा छलफल हुनसक्छ । तर, अहिले नै नहोला ।’

हाल कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्ष गुणावती एमालेबाट निर्वाचित भएकी थिइन् । अध्यक्षले काम पनि गर्न नसक्ने र राजीनामा पनि नहुने अवस्थामा कार्यवाहकको हिसाबले एमालेको योजनामा पालिका चल्न सक्ने भयमा कांग्रेसीहरु देखिन्छन् । त्यही भयका कारण कांग्रेसभित्र अध्यक्षलाई राजीनामा गराएर उपनिर्वाचन गराउने चर्चा सुरु भएको हो । 

‘अध्यक्षको अहिलेको स्वास्थ्य अवस्था र चिकित्सकको भनाइअनुसार उहाँले निको भएर गाउँपालिकाको नेतृत्व गर्ने सम्भावना कम छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यहाँ उपाध्यक्ष एमालेको हुनुहुन्छ । एमालेलाई किन कार्यवाहक दिने भनेर उहाँलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नु पर्ने सुझाव आएको छ । कांग्रेसभित्र व्यापक छलफल भइरहेको छ ।’

गत निर्वाचनमा गच्छदारले ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत ल्याएका थिए  । उनलाई राजीनामा गराएर उपनिर्वाचन मार्फत चुनाव जित्ने रणनीतिमा कांग्रेस छ । निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएको खण्डमा ६ महिनाभित्र उप निर्वाचन हुने कानुनी प्रावधान रहेको छ । 

gunabati tharuउपाध्यक्ष गुणावतीले भने बेहोस अवस्थामा अध्यक्षको राजीनामाको सम्भावना नभएको बताइन् । ‘त्यस्तो बिरामीले कसरी राजीनामा दिनुहुन्छ ?,’ उनले भनिन् ।

निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटिरहेकै बेला त्यही समयमा उपनिर्वाचन हुनेगरी कांग्रेसका नेताहरूले छलफल थालेको बताइएको छ । तर, उपाध्यक्ष गुणावतीले भनेजस्तै अचेत अवस्थामा रहेका अध्यक्षको राजीनामा सनाखत गर्ने अवस्था देखिँदैन । निर्वाचन आयोग आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी तयारीमा जुटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप