बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ

मङ्गलबार, ०८ फागुन २०८०, १३ : ५७
मङ्गलबार, ०८ फागुन २०८०

वीरगन्ज । दुई समुदायबिचको तनाव कारण वीरगन्ज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ । सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

दोस्रो दिनको कर्फ्यु जारी भएपछि बजार पूर्णरुपमा ठप्प भएको छ । कर्फ्यु आदेश जारी भएपछि वीरगन्जको बजार सुनसान बनेको छ । 

मुख्य सडक तथा गल्लीमा रहेका सबै खाले पसलसमेत बन्द छन् । कर्फ्युका कारण वीरगन्ज महानगरभित्र साना तथा ठुला खाले सवारीसाधन बन्द छन् । 

महानगरमा लगाइएको कर्फ्युलाई पालना गराउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ । मुख्य बजार तथा गल्लीहरुमा समेत प्रहरीले पेट्रोलिङ तथा गस्ती गरिरहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए । 

उनका अनुसार प्रहरीले मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोसाकसहित व्यापक सङ्ख्यामा प्रहरी खटाइएको छ । 

उनका अनुसार दोस्रो दिनको कर्फ्युमा हरेक चोक चोकमा, मुख्य सडकमा तथा संवेदनशील ठाउँहरूमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । 

शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि हुन नदिने प्रहरीले पूरा सतर्कता अपनाएको प्रवक्ता थापाको भनाइ छ । 

प्रदर्शन गर्ने ९ जना पक्राउ

दोस्रो दिनको कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । 

कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

महानगरमा कर्फ्यु जारी भएता पनि केही व्यक्तिहरूले त्यसको उल्लंघन गर्दै ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका डिएसपी ध्रुवबहादुर श्रेष्ठले जनाए । उनका अनुसार चोक चोकमा लुकेर टायर बालेर प्रदर्शन गर्नेहरूलाई अहिले नियन्त्रणमा लिइएको हो । 

शान्ति सुरक्षा भङ्ग हुने अवस्था आएको भन्दै वीरगन्ज महानगरमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए । 

उनका अनुसार सोमबार दिउँसो वीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले महानगरभित्र हिजो साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप