सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठक : के भन्छन् जिल्ला सभापतिहरु ?

बुधबार, ०९ फागुन २०८०, २१ : ००
बुधबार, ०९ फागुन २०८०

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ ।

चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताएका छन् । उनले शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने बताए । सरकार र पार्टीबिचको सम्पर्क बढाउनुपर्ने उनले बताए । 

स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए । उनले भने,‘प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ । जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ ।’ भ्रष्टाचारको विषयमा कांग्रेस अडिग छ भन्ने सन्देश दिन आवश्यक रहेको पनि उनले बताए । 

यस्तै धनकुटा जिल्ला सभापति दिनेश राईले कोशी प्रदेशमा आफूले विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने हो भन्दै महासमिति बैठकमा प्रश्न गरेका छन् । ‘कोशी प्रदेशको नामांकन विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कहाँ कानमा तेल हाल्नुभएके छ । कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्ने ? कुनै पनि राजनीतिक दलहरु खुलेर कार्यक्रम गर्न पाएको छैन,’ उनले भने । उनले कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिने बताए ।

यस्तै मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने बताए । उनले पहिचानको विषयमा कुरा उठाएका छन् । यस्तै उनले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने धारणा राखे। 

सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । उनले कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताए । उनले भने, ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ । नामाकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुरोध छ ।’

झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने बताए । उनले भने, ‘गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि । अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौँ । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ?  केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।’

कैलाली सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँ–गाउँ पुर्‍याउने त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ, समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने । तर सकभर समयमै गर्ने ।’

त्यसैगरी रौतहटका सभापति सुनील कुमार यादवले गठबन्धन रणनीतिक कुरा भएको बताए । उनले भने, ‘गठबन्धनबारे अहिले निर्णय गर्न आवश्यक छैन । गठबन्धन राजनीतिक स्थायित्वको लागि गरिएको हो । भ्रष्टाचारको बारेमा कडा नीति हुनुपर्छ ।’ सर्लाही सभापति सुरेन्द्र सिंहले गठबन्धनको बारेमा नीतिगत निर्णय गर्न आवश्यक नभएको बताए । उनले विधानको अक्षरसपालना गर्नुपर्ने र गुट उपगुटको अन्त्य गर्नुपर्ने बताए । 

पर्सा सभापति जनार्दश सिंह क्षेत्रीले गठबन्धनबारे अहिले नै बोल्न आवश्यक नभएको बताए । २०७४ मा गठबन्धन नगर्दा पार्टीको कुन हालत थियो भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । भ्रष्टाचार निवारणमा कांग्रेस निर्मम ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।  

महोत्तरी सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्ने कुराहरु प्रतिवेदनमा अपुग भएको बताए । उनले गठबन्धनको कुरा बेमौसमी भएको र युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ यतातिर ध्यान दिन नसकिएको बताए ।  

धनुषाका सभापति योगेन्द्र पन्जियारले लेभीको कुरा विधान बमोजिम सम्बोधन हुनुपर्ने र क्रियाशील वितरणमा नयाँ मान्छेलाई कुनै अवसर दिइनुपर्ने बताए । उनले महाधिवेशनको १ वर्ष अघिदेखि क्रियाशील नवीकरण बन्द गर्नुपर्ने बताए ।  

हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउनुपर्ने धारणा व्यक्त गरे ।  सिरहाका सभापति रामचन्द्र यादवले सरकारमा जान गठबन्धन अनिवार्य भए पनि चुनावअघि गरिने गठबन्धन आवश्यक नभएको बताए । रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुम पश्चिमको भूकम्पले पर्याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गरे । सहिद र प्रजातन्त्र सेनानीको सम्मानमा पार्टीले उपसभापतिको संयोजकत्वमा जिल्लादेखि केन्द्रसम्म प्रतिष्ठान बनाउनुपर्ने उनको भनाइ छ ।  

ललितपुर सभापति जितेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताए । उनले भने,‘अहिले नै गठबन्धनबारे निर्णय गरेर अघि बढ्दा उचित हुँदैन । यसबारे पछि परिस्थिति अनुसार निर्णय गरिनुपर्छ ।’  

गोरखा सभापति नन्दु न्यौपानेले कांग्रेस पार्टी आज आफ्नै खुट्टामा उभिन नसकेको बताए । उनले भने,‘गोरखामा गठबन्धन दलको विचार नमिलेका कारण समस्या भएको छ । नेपाली समाजमा कांग्रेसको ठूलो योगदान छ र आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुपर्छ ।’ 

मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसलाई विकास निर्माणसँग जोड्ने र भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्ने बताए । उनले भने,‘नेपाली कांग्रेसले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ ।’  बागलुङ सभापति जितबहादुर शेरचेनले पार्टीमा देखिएको निराशालाई चिर्दै अघि बढ्नुपर्ने बताए । उनले गठबन्धन रणनीति कुरा भएको र त्यो तत्कालीन समयमा निर्णय गर्नुपर्ने बताए । धादिङका सभापति रामनारायण महासमिति सदस्यहरुले जहाँबाट भोट हाल्यो, आफूहरु एकै ठाउँमा छौँ भन्ने बिर्सिएको गुनासो गरे ।  

नवलपरासीका सभापति महेन्द्र जिसीले जनताले प्रदेश सरकारलाई जोकरको रुपमा लिएको बताए । उनले पार्टीको केन्द्रीय सदस्य हुनेहरू तलबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै राख्न पनि सुझाव दिए । 

त्यस्तै काभ्रेका सभापति तीर्थ लामाले केन्द्रीय समिति र पदाधिकारीहरू सक्षम हुँदा हुँदै पनि विचारमा ऐक्यवद्धता नदेखिएको गुनासो गरे । उनले समितिको बैठकमा नआउने नेताहरूलाई के गर्ने भन्ने प्रश्न पनि गरे ।  

म्याग्दी सभापति खमबहादुर गर्बुजाले शीर्ष नेताहरू एक ठाउँमा हुन जरुरी भएको बताए । उनले म्याग्दीमा गठबन्धन नगरी चुनाव नजित्ने बताए । त्यस्तै रामेछापका सभापति कान्छा लामाले १५ औँ महाधिवेशनमा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि हुनुपर्ने बताए ।  

ताप्लेजुङ सभापति गजेन्द्र तमुले कोशीमा पहिचानको मुद्दा कांग्रेसले मिलाउनुपर्ने बताए । त्यस्तै उनले केन्द्रीय सदस्य पदेन महासमिति सदस्य हुने भए जिल्ला प्रदेश समितिले पनि यो अवसर पाउनुपर्नेमा जोड दिए ।

पाँचथरका सभापति रुप नारायण जबेगुले कोशीको मुद्दालाई तत्काल निकास दिन नेतृत्वलाई आग्रह गरे । रुपन्देहीका सभापतिले गठबन्धन आधारभूत आवश्यकता भएको बताए । 

बर्दियाका सभापति अरुण राठौरले गठबन्धन सरकार बनाउँदा मात्रै आवश्यक हुने बताए । बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलले पनि कांग्रेस एक्लै निर्वाचनमा जाने आँट गर्नुपर्ने बताए । प्युठान जिल्ला सभापति बिष्णु गिरीले गठबन्धन महासमिति बैठकमा प्रवेश पाउनु गलत भएको बताए । दाङ जिल्ला सभापति शंकर डाँगीले गठबन्धनको मर्मलाई बुझेर व्यवस्थापन गर्नुपर्ने बताए ।

पाल्पा जिल्ला सभापति हिमाल श्रेष्ठले चुनावी गठबन्धनले गर्दा धेरै कांग्रेस पीडित बन्नुपरेको बताए । रोल्पा जिल्ला सभापति किशोर आचार्यले गठबन्धनले गर्दा कांग्रेसको चुनाव चिन्ह नै हराउने अवस्था आएको बताए । 

तनहुँका जिल्ला सभापति जितप्रकाश आले युवा पलायन बढ्दै गएको र स्थानीय तहमा पार्टी संरचनामा राख्ने योग्य मान्छे नै नपाउने स्थिति सिर्जना हुन लागेको बताए ।

सुर्खेतका कार्यवाहक सभापति टोपबहादुर रावतले कांग्रेसको नीति सहकार्यको भएको उल्लेख गर्दै गठबन्धन के गर्ने भनेर नीति बनाएर अघि बढ्ने नभई रणनीतिक विषय भएको बताए । जाजरकोट सभापति वेदराज सिंहले गठबन्धन रणनीतिक कुरा नभएको बताए । सल्यान सभापति केशबहादुर विष्टले नीतिगत कुरा लेखेर नभई व्यवहारले देखाउनुपर्ने बताए । जिल्लालाई कारबाही र पुरस्कारको व्यवस्था पार्टीले गर्नुपर्ने बताए । 

दोलखाका सभापति  बर्मा लामाले महासमिति बैठकमा पेस गरिएका प्रस्ताव आवश्यक रहेको र यसलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । कालिकोटका सभापति अम्बबहादुर शाहीले गठबन्धन गर्दा स्थानीय, जिल्लालाई जिम्मा दिनुपर्ने र केन्द्रले लाद्न नहुने बताए । जुम्लाका सभापति कर्णबहादुर शाहीले गठबन्धन कसका लागि गर्ने र कसका लागि नगर्ने भन्ने विषय जिल्लालाई दिनुपर्ने बताए । 

मुगुका सभापति ऐनबहादुर शाहीले द्वन्द्वपीडित र सहिदका परिवारलाई पार्टीले वडादेखि आरक्षण दिनुपर्ने बताए । हिन्दु धर्मको कुरा उठिरहँदा पार्टीले धारणा बनाउन जरुरी भएको उनको भनाइ छ । डोल्पा सभापति पूर्ण शाहीले कांग्रेसमा अनुशासनको समस्या भएको र नेता कार्यकर्ताले जे मन लाग्यो त्यही गर्न नहुने बताए । बाराका सभापति राजेश राय यादवले पार्टी सरकारमा गएको र पार्टीसँगको समन्वयमा ध्यान दिन आवश्यक रहेको बताए ।

डडेल्धुराका सभापति भिमबहादुर साउदले गठबन्धन परिस्थितिले निम्त्याउने कुरा भएकोले अहिले नीतिमा हाल्न आवश्यक नभएको बताए । सुनसरीका सभापति सितारामा मेहेताले कृषी नीतिमा कांग्रेसको धारणा स्पष्ट हुनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप