बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गर्छौँ : महामन्त्री शर्मा

बिहीबार, १० फागुन २०८०, १८ : ५५
बिहीबार, १० फागुन २०८०

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले पार्टीलाई एकढिक्का भएको सन्देश दिएको बताएका छन् ।  

महासमिति बैठकको समापन समारोहमा बोल्दै महामन्त्री शर्माले महासमिति बैठकमा देशका दर्जनौँ विषयहरूमाथि छलफल गरेको बताए ।

 ‘महासमिति बैठकमा हामीले दर्जनौँ विषयहरूमा छलफल गर्‍यौँ, र अब यो देशलाई सुशासन र समुन्नतिको यात्रामा लिएर जानलाई कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश दिने ठाउँमा आइपुगेका छौँ,’ उनले भने, ‘हामीले प्रण गरेका छौँ कि अबका १५ वर्षपछि नेपाललाई समुन्नतिको एउटा उचाइमा पुर्‍याउनेछौँ र त्यसकालागि प्रतिबद्ध छौँ ।’ 

उनले नेपाल र नेपाली राजनीतिलाई रुपान्तरणका लागि विभिन्न प्रस्तावहरु पारित गरेको बताए । ‘हामीले यही हलभित्र नवराज विकलाई पनि सम्झ्यौँ र निर्मला पन्तसम्मलाई पनि सम्झिएका छौँ । अनि प्रण गरेका छौँ कि अनेकौँ सामाजिक विकृतिहरूलाई रुपान्तरण गरेर अघि बढ्छौँ,’ महामन्त्री शर्माले भने, ‘राजनीतिमा रुपान्तरणका लागि हामीले राजनीतिक प्रस्तावहरू पनि पारित गरेका छौँ ।’

यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गर्ने उनले बताए । 

उनले भने,  ‘अहिले धेरै देखिएको असन्तुष्टिहरुलाई भर्‍याङ बनाएर कसैले आगामी निर्वाचनमा सरकारमा जाने सपना देखेको छ । कसैले अवस्था होइन व्यवस्था नै खराब भनेर पुरानै राजतन्त्रलाई ल्याउने परिकल्पना गरिरहेका छौँ । तर, हामी यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गछौं ।’ 

उनले अब राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, मन्त्रीको तीन र सांसदको चार पटक भन्दा शपथ नगर्ने निर्णय बैठकले पारित गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप