सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थायी समिति बैठक

माओवादीमा कामको मूल्यांकन : उत्कृष्टलाई प्रशंसा, नगर्नेलाई निलम्बन वा घटुवा

बिहीबार, १० फागुन २०८०, २२ : १६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिलोपटक कामको आधारमा पुरस्कृत र सजायको मापदण्ड बनाएको छ । साउनको तेस्रो साता प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको निर्णयअनुसार माओवादीले चार महिने (भदौ–पुस) विशेष रूपान्तरण अभियान चलाएको थियो । 

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अभियानमा काम गर्ने र नगर्ने नेता तथा कार्यकर्ताहरूलाई पुरस्कार र सजाय दिने गरी मापदण्ड बनाएको हो । बैठकमा १० वटै प्रदेशका इन्चार्जहरूले समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । जसअनुसार कोशीबाट चक्रपाणि खनाल, मधेसबाट लीलामणि पोखरेल, बागमतीबाट जनार्दन शर्मा, गण्डकीबाट देवेन्द्र पौडेल, लुम्बिनीबाट हितमान शाक्य, कर्णालीबाट मातृका यादवले रिपोर्टिङ गरेका थिए ।

यस्तै उपत्यका विशेषबाट वर्षमान पुन र सम्पर्क समन्वयबाट गिरिराजमणि पोखरेलले रिपोर्टिङ गरेका थिए । सुदूरपश्चिम र प्रवासबाट महासचिव देव गुरुङले रिपोर्टिङ गरेका थिए । सुदूरपश्चिमका इन्चार्ज डिलाराम आचार्य बिरामी भएकाले रिपोर्टिङ गरेनन् । प्रवासका इन्चार्ज राम कार्कीले रिपोर्टिङ गर्न नमानेको बुझिएको छ ।

इन्चार्जहरूको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्कृष्ट काम गर्ने र कामै नगर्ने तीन/तीन जनाको नाम पेस गर्न निर्देशन दिएका छन् । काम गर्ने समूहमा पुरस्कार र कारबाहीका लागि चारवटा मापदण्ड बनाइएको छ । उत्कृष्ट काम गर्नेलाई प्रशंसा पत्र दिने र कामै नगर्नेलाई कडा चेतावनी, निलम्बन, स्पष्टीकरण सोध्नेदेखि घटुवासम्म हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । 

‘इतिहासमै पहिलोपटक कामको आधारमा मूल्याङ्कन गरेको छ । १० वटै प्रदेशका इन्चार्जले अभियानमा को कति दिन खट्यो खटेन ? उत्कृष्ट को को भए ? रिपोर्टिङ गरेका छन् । प्रस्तुत गरेको विषयलाई अझै परिष्कृत गरेर भोलि छलफल हुन्छ । अध्यक्षले सबै प्रदेशबाट सर्वोकृष्ट र कामै नगर्ने तीन÷तीन जनाको नाम प्रस्तुत गर्न निर्देशन दिनुभएको छ’, सापकोटाले भने, ‘आएका नाममा थप छलफलपछि राम्रो हुनेलाई सम्मान पत्र दिने । ठिकै गर्नेलाई धन्यवाद, अलि ठिक ठिकै गर्नेलाई अझ राम्रो गर्नोस् भन्ने र नराम्रो गर्नेलाई कारबाही गर्ने, कडा चेतावनी, निलम्बन, घटुवा हुन सक्नेछ ।’

उनले केन्द्रीय सदस्य सबैलाई केन्द्रले स्पष्टीकरण सोध्ने र अन्यको हकमा प्रदेशले नै निष्कर्ष निकाल्ने बताए । 

नेताहरूको मूल्याङ्कनको आधार ७० देखि माथिलाई पहिलो, ४० देखि ७० सम्मलाई दोस्रो, १० देखि ४० सम्मलाई तेस्रो र १० भन्दा मुनिलाई चौथो क्याटागोरीमा राखिएको छ । 

सातै प्रदेशबाट करिब १०–१५ सम्म कामै नगर्ने नेताहरू रहेको इन्चार्जहरूले बैठकमा ब्रिफिङ गरेका थिए । बैठकमा वडा तहमा खटिएका केन्द्रीय समितिदेखि स्थायी समितिसम्म कामको मूल्याङ्कन भएको थियो । केही सदस्यहरूले पदाधिकारीहरूको पनि कामको मूल्याङ्कन हुनुपर्ने माग गरेका थिए । फिल्डमा कामै नगरेका केही नेताहरूको कैफियत बिरामीमा राखेकामा नेताहरूले असन्तुष्टि जनाएको बुझिएको छ । 

बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन,आगामी अभियानको तयारी, सङ्गठनात्मक कार्य विभाजन, विभिन्न विभागबारे, सुदूरपश्चिम विवादबारे, मधेशमा अविश्वासको मतबारे, स्कुल विभाग, भूकम्पको पुनर्निर्माण लगायत एजेन्डामा छलफल भएको थियो । 

शुक्रवारको बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन र आगामी अभियानको कार्यक्रम तय गरेपछि सङ्गठनात्मक कार्य विभाजनमा प्रवेश गर्ने सापकोटाले बताए । 

चैत र वैशाखमा दुईवटा अभियान चलाउने 

विधान अधिवेशनले पारित गरेको तराई मधेस जागरण अभियान र हिमाल पहाड अभियान सञ्चालनबारे सामान्य छलफल भएको छ । जसअनुसार तराई मधेस जागरण अभियान चैत १ गते झापाबाट सुरु हुने भएको छ । जसमा ५०० जनासम्मको टोली रहने सापकोटाले बताए । उनका अनुसार वैशाख १ गतेदेखि हिमाल पहाड जागरण अभियान चलाउने गरी ठोस योजना बन्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप