शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बालबालिकालाई खोप

बागमतीका १२ लाख बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप दिइने

शनिबार, १२ फागुन २०८०, १९ : ३१
शनिबार, १२ फागुन २०८०

हेटौँडा । बागमती प्रदेशको १२ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी भएको छ । संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार बागमती प्रदेशका ११९ वटै स्थानीय तहरुका १२ लाख ३० हजार ६२२ जनालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

प्रदेशका चितवन, काठमाडौँ, भक्तपुर र ललितपुरमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने कार्यक्रम रहेको छ भने अन्य ९ वटा जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार ९ महिनादेखि १५ वर्षसम्मकालाई खोप लगाउने कार्यक्रम रहेको ४ वटा जिल्लामा विद्यालय तथा नियमित केन्द्रमा खोप सेवा दिइने र अन्य जिल्लामा नियमित खोप केन्द्र र थप गरिएका केन्द्रबाट खोप लगाइने छ ।

संघीय सरकारको निर्देशनअनुसार प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुले १३ फागुनदेखि सुरु हुने दादुरा–रुबेला विरुद्धको साताव्यापि खोप अभियानको तयारी अन्तिम चरणमा पुर्याएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका खोप फोकल पर्सन उत्तमराज प्याकुरेलले जानकारी दिए ।

एक सर्वेक्षणका अनुसार प्रदेशमा ९ प्रतिशत बालबालिकामा खोपको पहुँच नपुगेकाले सो अवस्थालाई दृष्टिगत गर्दै खोप अभियानमा दादुरा–रुबेलाका अतिरिक्त नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने उनले बताए ।

उनका अनुसार नियमित खोप तालिकाअनुसार खोप लगाउन छुट भएका लक्षित उमेर समूहका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको हो । दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाई छ ।

दादुरा–रुबेला रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ संघीय सरकारको निर्देशनअनुसार प्रदेश र स्थानीय तहहरु एकजुट भएर एकहप्ते खोप अभियानमा सञ्चालनमा अग्रसर भएका हुन् ।

सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको उनले बताए । सरकारले २०७६/७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट नेपालमा दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत देखिएको थियो । बागमतीको कभरेज भने ७४ प्रतिशत रहेको उनको भनाई छ  ।  

कुन जिल्लामा कति बालबालिकालाई लगाइन्छ खोप ?

आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका १२ लाख ३० हजार ६२२ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको उनले बताए । संघीय सरकारले एक साताको अभियान निर्धारण गरेपनि केही जिल्ला र स्थानीय तहमा भने चैतसम्म खोप लगाइने उनले बताए । स्थानीय तहले नियमिति रुपमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने र केही क्षेत्रमा विविध कारणले ढिलासम्म खोप लगाइने उनले बताए ।

उनका अनुसार खोप अभियान अन्तर्गत काठमाडौमा फागुन २९ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको छ । जसमा ५ लाख ९७ हजार ३०५ जना बालबालिकालाई खो लगाउने तयारी रहेको छ । ललितपुरमा २५ गतेसम्म संचालन गरिने अभियान अन्तर्गत १ लाख ५४ हजार ५१४ जना, भक्तपुरमा २३ गतेसम्म सञ्चालन गरिने अभियानमा १ लाख १८ हजार २०० जना, रसुवामा २० गतेसम्म सञ्चालन गरिने अभियानमा ४ हजार ६३ जना, नुवाकोटमा फागुन १८ गतेसम्म सञ्चालन गरिने अभियानमा १७ हजार ६२२ जना, धादिङमा २७ गतेसम्म सञ्चालन गरिने अभियानमा २२ हजार २३७ जना बालबालिकालाई खोप लगाइने छ ।

त्यस्तै चितवनमा चैत १ गतेसम्म सञ्चालन गरिने अभियानमा १ लाख ९८ हजार ३९६ जना, मकवानपुरमा फागुन २१ गतेसम्म सञ्चालन गरिने अभियानमा ३४ हजार ६४० जना, सिन्धुलीमा १९ गतेसम्म सञ्चालन गरिने अभियानमा २१ हजार ७४ जना, रामेछापमा २३ गतेसम्म सञ्चालन गरिने अभियानमा ११ हजार ६८९ जना, दोलखामा १७ गतेसम्म सञ्चालन गरिने अभियानमा ११ हजार २७६ जना, सिन्धुपाल्चोमा १९ गतेसम्म सञ्चालन गरिने अभियानमा १५ हजार ६६८ जना र काभ्रेमा २३ गतेसम्म सञ्चालन गरिने अभियानमा २३ हजार ९५८ जना बालबालिकालाई खोप लगाइने छ ।

प्रदेशभर ५ हजार ८७७ खोप केन्द्र निर्धारण
बागमती प्रदेशमा खो अभियान सञ्चालनका लागि ५ हजार बढी खोप केन्द्रहरु निर्धारण गरिएको छ । निर्देशनालयका अनुसार प्रदेशका ११९ स्थानीय तहमा ५ हजार ७८८ वटा अभियान सञ्चालनका लागि खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

जसमा काठमाडौँमा १ हजार ६७०, ललितपुरमा ६२२ वटा, भक्तपुरमा ३९४ वटा, रसुवामा ५४ वटा, नुवाकोटमा २८१ वटा, धादिङमा १०४ वटा, चितवनमा ७१८ वटा, मकवानपुरमा ५२० वटा, सिन्धुलीमा ३४७ वटा, रामेछापमा २०७ वटा, दोलखामा २३१ वटा, सिन्धुपाल्चोकमा ३०० वटा र काभ्रेमा ४२९ वटा खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

सो खोप केन्द्रका ५ हजार ४९ स्वास्थ्यकर्मी र स्वयंसेवक १२ हजार ३४१ जना खटिने छन् । नेपालभर गत आर्थिक वर्षमा एक हजार ३५० जनामा दादुरा–रुबेला रोग देखिएको थियो । दादुरा–रुबेला संक्रमितमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेका छन् ।

नेपाल जनस्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप लगाएका बालबालिका ५२ प्रतिशत मात्र छन् । बागमती प्रदेशमा पूर्ण खोप लगाएका बालबालिका ८३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

दादुरा–रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, निमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप