बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

केनको गोलले बायर्न म्युनिखलाई राहत

आइतबार, १३ फागुन २०८०, ०९ : १८
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । बुन्डेस लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको खेलमा बायर्न म्युनिखले आरबी लिपजिगमाथि २–१ गोलको जित हासिल गरेको हो ।

जितसँगै बायर्न म्युनिखले लिग लिडर बायर लिभरकुजेनसँगको दूरी आठ अंकमा झारेको छ । बायर्न म्युनिखको रोमाञ्चक जितमा ह्यारी केन नायक बने । टोलीका लागि दुवै गोल केनले नै गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयको ५६औँ मिनेटमा केनले पहिलो गोल गरेका थिए । ७०औँ मिनेटमा आरबी लिपजिगका बेन्जामिन सिस्कोले जवाफी गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा केनले नै आकर्षक गोल गर्दै बायर्न म्युनिखलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका थिए । केनले बुन्डेस लिगामा गरेको गोल सङ्ख्या पनि २७ पुगेको छ ।

गत समरमा बायर्न म्युनिखमा आबद्ध भएका केनले क्लबका लागि सबै प्रतियोगितालाई मिलाउँदा हालसम्म ३१ गोल गरिसकेका छन् । बायर्न म्युनिखले घरेलु लिगमा खेलेको पछिल्ला तीन खेलमा पहिलो जित हात पारेको हो ।

हालसम्म २३ खेल खेलेको लिभरकुजेन ६१ अंकसहित तालिकाको पहिलो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा आसिन बायर्न म्युनिखको ५३ अङ्क छ । आरबी लिपजिग भने समान खेलबाट ४० अङ्क बटुल्दै तालिकाको पाँचौँ स्थानमा आसिन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप