बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
भूमाफियाको चलखेल

रातोपाटीमा समाचार प्रकाशन भएपछि सरकारले बनायो पशुपतिनाथको जग्गा खोज्न समिति

आइतबार, १३ फागुन २०८०, १८ : १६
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । गायब भएको पशुपतिनाथको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेको छ । रातोपाटीले गत माघ १७ गते ‘जय शम्भो : पशुपतिनाथको जग्गा २३१ रोपनी कम भो !’ शीर्षकमा समाचार छापेको करिब एक  महिनापछि समिति गठन भएको हो ।

पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रातोपाटीलाई जानकारी दिए । ‘गायब भएकोसहित पशुपतिको हजारौँ बिघा जमिन कसरी कहाँ कुन अवस्थामा छन् र के गर्न सकिन्छ भनेर प्रतिवेदन दिने गरी समिति गठन भएको छ’ उनले आइतबार रातोपाटीसँग भने ।

समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिने गरी समय तय गरिएको छ । पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी समितिको सदस्यमा सदस्य छन् ।

यसअघि कोषका तत्कालीन परिषद् कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठित छानबिन समितिले उपत्यकाभित्रकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएको प्रतिवेदन तयार परेको थियो । पशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा बागमतीदेखि मनहरा नदी बगरसम्मका त्यति जग्गा अझै गायब छ ।

यसअघि पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीन वटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठ, कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको समितिका प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

तत्कालिन कोषाध्यक्ष थापा संयोजकत्वको समितिको प्रतिवेदनले अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा औँल्यायो ।

भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को पूर्वप्रधानमन्त्री चन्द्रशमशेर जबरा मोही भएको ६ रोपनी ४ आना जग्गा अहिलेसम्म भेटिएको छैन । लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायबै छ । 

प्रतिवेदनमा लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना पनि गायब भएको उल्लेख छ । २०२१ सालको सबै नापीमा यो जग्गा कुन कित्ता, कुन गाविसको कति वडामा पर्छ भन्ने खुलेको देखिँदैन । लगत नम्बर ६५० मा रिपुमर्दन थापाको सदाबर्तबाट मार्सी फलुवा चामल तिर्नुपर्ने भनिएको जग्गा पनि भेटिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप