बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग-२ क्रिकेट

घरेलु मैदानमै नेपालको निराशजनक प्रदर्शन, कहाँ चुक्यो ?

आइतबार, १३ फागुन २०८०, १८ : ५३
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृङ्खला सकिएको छ । आगामी आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि निकै महत्त्वपूर्ण प्रतियोगिताका रूपमा रहेको लिग–२ शृङ्खलामा घरेलु टोली नेपालको सुरुआत भने निराशाजनक रह्यो । 

लिग–२ प्रतियोगिताको नयाँ सिजनमा यो पहिलो शृङ्खला हो । पहिलो शृङ्खला नै घरेलु मैदानमा हजारौँ समर्थकबिच खेल्ने अवसर पाए पनि नेपालले गतिलो प्रदर्शन गर्न सकेन । शृङ्खलामा नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्न सक्यो ।

जारी शृङ्खलाको अन्तिम खेलमा पनि नेपाली टोली नेदरल्यान्ड्ससँग ठूलो अन्तरले पराजित हुन पुग्यो । अन्तिम खेल खेल्नुअघि अङ्क तालिकाको दोस्रो स्थानमा रहेको नेपाल शृङ्खला सकिएसँगै तेस्रो स्थानमा खुम्चन पुग्यो । पक्कै पनि नेपाली क्रिकेट समर्थकका लागि यो निराशाजनक क्षण हो । 

चारमध्ये तीन खेल जितेको नामिबिया ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । नामिबियाले दुई खेलमा नेपाललाई र एक खेलमा नेदरल्यान्ड्सलाई हरायो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भयो । 

आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लियो । नेदरल्यान्ड्सले एक खेलमा नामिबिया र एक खेलमा नेपाललाई हराएको हो । डच टोली एक खेलमा नेपाल र एक खेलमा नामिबियासँग पराजित भयो । 

चारमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको नेपाल भने दुई अङ्कसहित तेस्रो स्थानमा रह्यो । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाली टोली दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो ।

  • टस हारेको सबै खेलमा पराजित

यसअघि खेलिएको क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले महत्त्वपूर्ण प्रतियोगिता लिग–२ मा भने खासै प्रभाव देखाउन सकेन । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ३–० ले जितेको थियो । तर, लिग–२ का कुनै पनि खेलमा नेपाली टोली पुरै ५० ओभर क्रिजमा टिक्न सकेन । 

हुन त लिग–२ शृङ्खलामा टसले पनि नेपाली टोलीलाई साथ दिएन । आफूले खेलेका चारमध्ये तीन खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्नु परेको थियो । ती तीनवटै खेलमा नेपालले पराजय ब्यहोर्नु पर्‍यो । टस जितेर पहिले फिल्डिङ रोजेको एक खेलमा भने नेपालले जित हात पारेको थियो । 

  • पहिलो खेलमा नामिबियाविरुद्ध कमजोर ब्याटिङ

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा केवल एक सय ३२ रन बनाउँदै अलआउट भएको थियो । 

त्यो खेलमा नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेका थिएनन् । नेपालका प्रभावशाली ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । 

जवाफी ब्याटिङ गरेको नामिबियाले ३३.१ ओभरमै ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । घरेलु टोलीका बलरहरूले गतिलो प्रदर्शन गरे पनि लक्ष्य निकै कम भएकाले नेपाल हार स्विकार्न बाध्य भयो । नेपाली बलर सोमपाल कामीले तीन, ललित राजवंशीले दुई र कप्तान रोहित पौडेलले एक विकेट लिएका थिए ।

दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ र बलिङ दुवै अब्बल

नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । त्यो खेलमा टसले पनि नेपाललाई साथ दिएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । 

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका ब्याट्सम्यानहरू नेपाली बलरसामु निरीह बनेका थिए । सिङ्गो डच टोली ३९ ओभरमा केवल एक सय ३७ रनमा अलआउट भएको थियो । नेपाली टोलीका बलर कुशल भुर्तेल एक्लैले चार विकेट लिएका थिए । उनले सात ओभरमा केवल २० रन खर्चिएका थिए ।

यसैगरी ललित राजवंशीले दुई तथा सोमपाल कामी र रोहित पौडेलले पनि एक–एक विकेट हात पारेका थिए । त्यो खेलमा नेपालको फिल्डिङ पनि अब्बल थियो । नेपाली फिल्डरले डच टोलीका दुईजना ब्याट्सम्यानलाई रन आउट गराएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमै केवल एक विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । जारी शृङ्खलामा कुनै पनि टोलीले सबैभन्दा छिटो विजय लक्ष्य पुरा गरेको कीर्तिमान पनि यही खेलमा बनेको थियो । 

उक्त खेलमा नेपाली टोलीका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर आसिफ शेखले अविजित ५४ रन बनाएका थिए । उनले ४५ बलमा एक छक्का र आठ चौका हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहले पनि अविजित ५७ रन बनाएका थिए । 

अनिलले केवल ३६ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काएका थिए । यसका अतिरिक्त नेपाली टोलीका अर्का ओपनर कुशल भुर्तेलले पनि २८ रन बनाएका थिए । उनले केवल ११ बलमा तीन छक्का र दुई चौका प्रहार गरेका थिए । 

  • तेस्रो खेलमा नामिबियाविरुद्ध १६८ रनमै अलआउट

आफ्नो तेस्रो खेलमा नेपाली टोली नामिबियासँग दुई विकेटले पराजित भएको थियो । त्यो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपाली टोलीका अधिकांश ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रहेको थियो ।

यद्दपि, ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका थिए । उनले ६४ बलमा एक छक्का र आठ चौकाको मद्दतले ५८ रन बनाएका थिए । तर, अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । 

सिङ्गो नेपाली टोली ३७.१ ओभरमा केवल एक सय ६८ रनमा समेटिएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाएका थिए । 

नेपाली टोलीका अन्य ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । टोलीको कुल स्कोर केवल ४३ रहँदा तीन महत्त्वपूर्ण विकेट गुमाउँदा पनि अन्य ब्याट्सम्यानले सम्हालिएर खेल्न प्रयास गरेको देखिएन । त्यो खेलमा पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन निकै कमजोर देखिएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले ४० ओभरमा आठ विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । यो खेलमा पनि नेपाली बलरहरूको प्रदर्शन भने अब्बल थियो । सामान्य लक्ष्य पछ्याए पनि जितसम्म पुग्न नामिबियाले ठूल कसरत गर्नु परेको थियो ।

नेपाली टोलीका बलर कुशल भुर्तेल एक्लैले तीन विकेट लिएका थिए । उनले पाँच ओभरमा २८ रन खर्चिएका थिए । कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले पनि एक–एक विकेट हात पारेका थिए । त्यो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल ब्याटिङमा जम्न सकेका थिएनन् ।

  • चौथो खेलमा नेदरल्यान्डविरुद्ध ब्याटिङ र बलिङ दुबैमा समस्या

नेदरल्यान्डविरुद्धको आफ्नो चौथो खेलमा पनि नेपाली टोलीले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । आइतबार खेलिएको उक्त खेलमा पनि नेपाली टोली आठ विकेटको फराकिलो अन्तरले पराजित हुन पुग्यो । 

नेदरल्यान्ड्सविरुद्धको यो खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै कमजोर देखियो । पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रनमात्र बनाउन सकेको थियो । ओपनर कुशल भुर्तेल वाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो । 

428630371_815013453988370_4248288475350395579_n

कुशल भुर्तेलले ६६ रनको योगदान गरेका थिए । निकै सम्हालिएर ब्याटिङ गरेका कुशल भुर्तेल सातौँ विकेटका रूपमा मात्र पेभेलियन फर्किएका थिए । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाएका थिए । उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि थियो । कुशल भुर्तेल ३६.३ ओभरसम्म क्रिजमा टिकेका थिए । कुशल भुर्तेल आउट हुँदा नेपाली टोलीले एक सय २२ रन बनाइसकेको थियो । 

यसदेखि वाहेक नेपाली टोलीका माथिल्ला क्रमका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । बरु तल्लो क्रमका ब्याट्सम्यान करण केसी र आरिफ शेखले टोलीलाई निकै हदसम्म राहत दिएका थिए । नेपालले एक सय ३५ रनको कुल स्कोरमा आठ विकेट गुमाएसकेको थियो । त्यसपछि आरिफ शेख र करण केसीले ३६ रनको साझेदारी गर्दै टोलीलाई राहत दिएका थिए । 

ओपनर आसिफ शेखले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाएका थिए । नेपाली टोलीका अन्य ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेका थिएनन् । जवाफी ब्याटिङमा ओर्लिएको डच टोलीले ३७.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको यो खेलमा नेपाली बलरहरु पनि खासै प्रभावकारी देखिएनन् । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए । समग्रमा यो खेलमा नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । 

  • ब्याटिङमा चलेनन् कप्तान रोहित 

नेपाली टोलीका कप्तान रोहित पौडेलले यो शृङ्खलामा गतिलो ब्याटिङ गर्न सकेनन् । नामिबियाविरुद्धको पहिलो खेलमा उनी एक रन बनाउँदै आउट भएका थिए । त्यसपछि दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध उनले ब्याटिङको अवसर नै पाएनन् । त्यो खेलमा अघिल्ला तीन ब्याट्सम्यानले नै नेपाललाई जितसम्म पुर्‍याएका थिए । 

यसैगरी तेस्रो खेलमा नामिबियाविरुद्ध पनि कप्तान रोहितको ब्याटिङ चलेन । त्यो खेलमा रोहित खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । चौथो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि उनले गतिलो ब्याटिङ गर्न सकेनन् । चौथो खेलमा उनी केवल १६ रन बनाउँदै आउट भए ।

  • ब्याटिङमा आसिफ शेख र कुशल भुर्तेल अगाडि

लिग–२ को पहिलो त्रिकोणात्मक शृङ्खला सकिँदासम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा नेपालका आसिफ शेख र कुशल भुर्तेले पहिलो र दोस्रो स्थानमा रहे । आसिफ शेखले चार पालीमा कुल एक सय ३३ रन बनाएका छन् । उनले दुईवटा अर्धशतक प्रहार गरेका छन् । यसक्रममा उनले तीन छक्का र १९ वटा चौका पनि हिर्काएका छन् ।

यसैगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा कुशल भुर्तेले दोस्रो स्थानमा छन् । उनले चार पालीमा कुल एक सय १२ रन बनाएका छन् । उनले एक अर्धशतक पनि बनाएका छन् । यसक्रममा उनले तीन छक्का र १३ चौका हिर्काएका छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा नेदरल्यान्ड्सका म्याक्स ओ’डड तेस्रो स्थानमा छन् । उनले चार पालीमा एक सय सात रन बनाएका छन् । यो सूचिमा अन्य नेपाली ब्याट्सम्यान भने निकै तल परेका छन् । अनिल शाहले चार पालीमा कुल ७२, भीम सार्कीले तीन पालीमा ७० र करण केसीले तीन पालीमा ५४ रन बनाएका छन् । 

  • बलिङमा कुशल भुर्तेल तेस्रो स्थानमा

जारी शृङ्खलामा सर्वाधिक विकेट लिने बलरको सूचिमा नेपालका कुशल भुर्तेल तेस्रो स्थानमा छन् । उनले तीन पालीमा कुल सात विकेट लिएका छन् । नेदरल्यान्ड्सका भिभियन किङ्माले भने चार पालीमा सात विकेट लिएका छन् । उनी चौथो स्थानमा छन् ।

सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा नामिबियाका मर्वे जेरहार्ड एरास्मस पहिलो स्थानमा आसिन छन् । उनले चार पालीमा कुल १२ विकेट लिइसकेका छन् । नेदरल्यान्ड्सकै आर्यन दत्त दोस्रो स्थानमा आसिन छन् । उनले चार पालीमा कुल ११ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप