बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सर्वदलीय बैठक

बागमती सर्वदलीय बैठक: सरकार र प्रतिपक्षबिच नोकझोक

फागुन १५ गते कर्मचारीसहितको सर्वदलीय बैठक बस्ने
आइतबार, १३ फागुन २०८०, २० : ४६
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । बागमती प्रदेशसभा सञ्चालनको सन्दर्भमा सहमति गर्न आइतबार बसेको सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षबिच विवाद भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालनको सन्दर्भमा सहमतिका लागि दिउँसो २ बजेका लागि आह्वान गरिएको उक्त बैठक एक घण्टा ढिला गरी दिउँसो ३ बजे बसेको थियो । 

४ घण्टासम्म संसद् सचिवालय हेटौँडा स्थित सभामुख पाठकको कार्यकक्षमा भएको छलफलमा सदन सञ्चालनका सन्दर्भमा दलहरूबिच समझदारी भए पनि बजेटका सन्दर्भमा रहेका विवाद भने समाधान हुन सकेको छैन । सरकार र प्रतिपक्ष बिच भएको विगतको बजेट माथिको सहमतिका विषयमा भने मुख्यमन्त्री शालिकराम जम्कट्टेल र विपक्षी दलका नेता बिच नोकझोक चलेको थियो ।

बैठकमा सहभागी एक सांसदका अनुसार सो बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विपक्षीसँगको माग सम्बोधन गर्न सकारात्मक रहे पनि अख्तियारको पत्रका कारण समस्या भइरहेको बताएका थिए । मुख्यमन्त्री जम्कट्टेलले कर्मचारीका कारण विपक्षी दलहरूसँग गरिएको बजेटको सन्दर्भको सहमति कार्यान्वयनमा समस्या भएको बताएको ती सांसदले बताए ।

ती सांसदका अनुसार बैठकमा मुख्यमन्त्री जम्कट्टेलले भनेका थिए– ‘सरकारका तर्फबाट म र आर्थिक मामिला तथा योजना मन्त्रीले विपक्षी दलहरूसँगको सहमति कार्यान्वयनका लागि पहल गरिरहेका छौँ । कर्मचारीका तर्फबाट सो सहमति कार्यान्वयनका सन्दर्भमा प्रक्रिया अघि बढाउन समस्या भइरहेको छ । अख्तियारको पत्र देखाएर कर्मचारीहरू काम गर्न तयार छैनन् । मैले बारम्बार पहल गरिरहेको छु । उहाँहरू तयार नभएपछि हामीले काम गर्न सकिरहेका छैनौ । यो अर्थमा म असफल नै भए । म स्विकार्न तयार छु । मलाई गाली गर्नुस् । बरु अर्को बजेटमा मिलाउँदा अहिले अघि बढौँ ।’

मुख्यमन्त्री जम्कट्टेलको उक्त भनाई प्रति प्रतिपक्ष दलका नेताहरूले विमति जनाएका थिए । बजेट माथि सहमति जुट्न नसकेपछि सो सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।

  • बजेट नपाए सदन चल्न नसक्ने विपक्षीको चेतावनी

प्रदेशसभाका विपक्षी दलहरूले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेका थिए । सहमति अनुसारको बजेट विनियोजन गर्न नसके संसद् बैठक पनि सञ्चालन चल्न नसक्ने चेतावनी दिएका थिए ।

बैठकमा सहभागी संसद्का अनुसार सरकारले गैर जिम्मेवारी पन देखाएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका थिए । नेता थपलियाले अख्तियार र कर्मचारी माथि आरोप लगाएर सरकार समस्याबाट भाग्न खोजेको आरोप लगाएका थिए ।

ती सांसदका अनुसार बैठकमा नेता थपलियाले भनेका थिए– ‘कर्मचारी र अख्तियारको बहाना गरेर सरकार भाग्न खोजिरहेको छ । सरकार विपक्षी दलहरूलाई बेवास्ता गरेर अघि बढिरहेको छ । एमाले सो कार्यको विरुद्धमा छ । सरकारले विपक्षी दलहरूसँगको सहमति कार्यान्वयन गर्न चाहेको छैन । सरकारले हामीसँगको सहमति कार्यान्वयन गर्न चाहेको भए यस अघि नै गरिसक्थ्यो । अख्तियारको पत्र आउनु पूर्व नै सहमति कार्यान्वयन भएर अघि बढ्थ्यो । अहिलेको समस्या व्यहोर्नु पर्दैनथ्यो । सरकारले विपक्षी दलहरूसँग गरेका सहमति तत्काल कार्यान्वयन गर्नुपर्छ । सहमति कार्यान्वयन नभए बैठक संसद् सञ्चालन हुन सक्दैन ।’

बैठकमा एमाले र राप्रपाले सहमति अनुसारको बजेट विनियोजन गर्न माग गरेका ती सांसदले बताए । दुवै दलका नेताहरूले सरकारसँग विपक्षी दलहरूको सहमति अनुसारको ७० करोड रुपैयाँ बजेटका योजनाहरू समावेश गर्न माग गरेको उनको भनाई छ ।

  • १५ गते कर्मचारीसहितको सर्वदलीय बैठक बस्ने

बजेट माथि सहमति जुट्न नसकेपछि आइतबारको बैठक स्थगित भएको छ । बजेट र विपक्षी दलहरूसँगको सरकारको सहमतिका विषयमा छलफलका लागि पुन सर्वदलीय बैठक बस्ने गरी बैठक स्थगित गरिएको छ ।

आगामी फागुन १५ गते बिहान ८ बजे पुनः सर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको हो । सो बैठकमा सभामुख पाठक र बजेटका सन्दर्भमा प्रक्रिया अघि बढाउने कर्मचारीहरूसहित संसद्का सबै दलहरूको सहभागिता रहने जनाइएको छ । सो बैठकमा सत्तापक्ष र विपक्षी दलहरू बिचको सहमति, अन्तर्द्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आइतबारको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयहरूमा छलफल भए पनि सहमति जुट्न नसकेको बताए । उनले सदन संचालनको विषयमा सबै दलहरू सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको बताए ।

आइतबारको सर्वदलीय बैठक पछि रातोपाटी समक्ष प्रतिक्रिया दिँदै मुख्यमन्त्री जम्कट्टेलले संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलहरू बिचको समस्या समाधान भएको बताए । उनका अनुसार सरकार र प्रतिपक्ष दल बिचको सहमति र बजेट माथिको विवाद भने मिल्न सकेको छैन । सो विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता तथा प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले संसद् सञ्चालन र विपक्षी दलहरू बिचको सहमति कार्यान्वयन माथिको छलफल सकारात्मक रहेको बताए । आइतबारको छलफलले सरकार र प्रतिपक्ष बिचको असमझदारीहरू चिर्ने प्रयत्न रहेको उनले बताए । १५ गते पुनः बस्ने सर्वदलीय बैठकले सरकार र प्रतिपक्ष बिचको बजेट तथा अन्य सहमतिका सन्दर्भमा आवश्यक निर्णय सहित प्रदेशसभा बैठकको निरन्तर सञ्चालन हुने वातावरण निर्माण हुनेमा आफू आशावादी रहेको उनले बताए ।

विपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र निरन्तर रहेको टिप्पणी गरे । सरकार र प्रतिपक्ष बिचको सहमतिका विषयमा गम्भीर रूपमा छलफल जारी रहेको उनले बताए । प्रदेशलाई समृद्ध बनाउने विषयमा प्रतिपक्ष गम्भीर भएर अघि बढे पनि सरकार गम्भीर हुन नसकेको प्रति आफूहरूले आपत्ति जनाएको उनले बताए ।

  • फागुनभित्र समितिको सभापति चयन गर्ने सहमति

सर्वदलीय बैठकले फागुन महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्न सहमत गरेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार आइतबार बसेको सर्वदलीय बैठकमा दलहरू बिच यस विषयमा सहमति जुटेको हो ।

बैठकले संसदीय समितिको सभापति चयनका विषयमा आवश्यक छलफल तथा तयारीका लागि कार्यदल समेत निर्माण गरेको उनले बताए । संसदीय समितिको नेतृत्व चयनका सन्दर्भमा आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न दलका सचेतकहरू सम्मिलित कार्यदल गठन गरिएको उनको भनाई छ । सो कार्यदलले आवश्यक अध्ययन तथा छलफल गरी १० दिनभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । बैठकले संसद्को अधिवेशन सञ्चालन, व्यवस्थापन र बिजनेसका विषयमा समेत छलफल भएको उनले बताए । विगतमा प्रतिपक्ष दलहरूसँग भएका सहमतिका विषयमा निरन्तर छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको उनले बताए ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक फागुन १५ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप