सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

म्युजिक भिडियो हुँदै फिल्मतिर कुसुम

भन्छिन्, ‘काम गराउन हतार गर्छन्, पैसा दिन तीन महिनाभन्दा बढी लगाउँछन्’
सोमबार, १४ फागुन २०८०, १३ : ०२
सोमबार, १४ फागुन २०८०

‘साँच्चै भन्नुपर्दा सकम्बरीपछि अभिनयमा मजा आएको प्रोजेक्ट यही हो । भिडियो पनि राम्रो बनेको छ,’ मोडल कुसुम शर्माले भनिन्, ‘युवराज चौलागाईं एकदमै राम्रो गायक हुनुहुन्छ । उहाँको गीतमा काम गर्न पाउँछु भनेर सोचेको पनि थिइनँ ।’ 

गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीतको म्युजिक भिडियोमा ‘फूलमाया’को भूमिका निभाएर चर्चामा आएकी मोडल कुसुम शर्माको चर्चा पुनः चुलिएको छ । गत वैशाखमा सार्वजनिक भएको ‘सकम्बरी’पछि उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन्, ती सामान्य नै रहे । यतिखेर गायक युवराज चौलागाईंको ‘नझुक्याउन’ बोलको गीतको म्युजिक भिडियोमा उनले गरेको अभिनयले प्रशंसा बटुलिरहेको छ । यस म्युजिक भिडियोमा एक युवकसँग मिलेर आफ्नै श्रीमान्लाई धोका दिने युवतीको भूमिका उनले निभाएकी छन् । ‘सकम्बरी’पछि आफूले थुप्रै भिडियो अभिनय गरे पनि चर्चा र अभिनयमा सकारात्मक प्रतिक्रिया भने ‘नझुक्याउन’ले दिएको कुसुमको भनाइ छ । 

यस म्युजिक भिडियोमा गायक युवराज र कुसुम दम्पतीका रूपमा देखिएका छन् । ‘उहाँकै गीतमा उहाँसँगै अभिनय गर्न पाउँदा सपनाजस्तो लागिरहेछ,’ उनले भनिन्, ‘यसपालि मैले आफ्नो अभिनयलाई थप निखारेकी छु ।’ 

गायक कुमार सानु र रानी शाक्यको स्वर रहेको एक हिन्दी गीतको म्युजिक भिडियोमा पनि उनले  काम गरेकी छन् । नेपालमै छायाङ्कन भएको रामजी लामिछाने निर्देशित भिडियोमा उनले अभिषेक खड्कासँग जोडी बाँधेकी छन् । यो भिडियो सार्वजनिक भएपछि आफ्नो चर्चा अझै चुलिने उनको विश्वास छ ।

‘म्युजिक भिडियो अभिनयमा आम्दानी त राम्रो रहेछ । अति ठग्दा रहेछन्,’ उनी भन्छिन् । काम गराउन हतार गर्नेले पैसा दिन तीन महिना र कतिले त्यो बढी समय लगाएको उनको भनाइ छ । ‘काम लगाएर पारिश्रमिक नदिने थुप्रै छन्, अब नाम सार्वजनिक गर्ने मनस्थितिमा छु । कलाकारितामा ठगीको कुरो पहिले सुनेकी थिएँ । अहिले भोगेँ । केटी मानिसलाई हेप्न, दबाउन खोज्ने पनि हुँदा रहेछन् ।’

म्युजिक भिडियोमा ठगिने डरले कतिपय कलाकारले काम गर्नुअघि नै पारिश्रमिक लिन्छन् । उनी भने पहिले पैसा लिँदा कामप्रतिको लगाव घट्ने मान्यता राख्छिन् । ‘काम सकिएपछि पैसा माग्दा–माग्दा हैरान,’ उनले थपिन्, ‘कोही त दुई–तीनवटा काम एकैपटक गराएर हराउँछन् ।’ यस्ता व्यक्तिले गर्दा कलाकारिता बदनाम भएको उनको ठहर छ ।

kushum sharma 2

  • फिल्ममा देखिँदै

कुसुम पछिल्लो समय आफ्नो परिचय फराकिलो पार्ने तर्खरमा छिन्, फिल्म ‘सञ्जीवनी’मार्फत । दिनेश श्रेष्ठको निर्देशन रहने केही अगाडि घोषणा भएको फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बनेर देखिनेछिन् । ‘सञ्जीवनी’मा अभिनयका लागि आफू निकै एक्साइटेट रहेको उनी बताउँछिन् ।

‘फिल्म गर्ने कुरोले खुसीको सीमा नै छैन,’ उनले भनिन्, ‘सानैदेखि आफूलाई ठुलो पर्दामा हेर्ने रहर थियो । त्यो पनि पूरा हुने भयो ।’ प्रेमकथामा बन्न लागेको ‘सञ्जीवनी’ले सानो उमेर र पाको उमेरबिचको प्रेमकथा भन्ने उनले खुलाइन् । फिल्म साइन गर्दा छायाङ्कन भदौमा हुने बताइएको थियो, तर अहिलेसम्म काम अगाडि बढेको छैन । 

एक फिल्मको काम अगाडि नबढ्दै अहिले उनको हातमा अन्य दुई फिल्म परेका छन् । जसमध्ये एकमा उनी फाइनलजस्तै छिन् । ‘सञ्जीवनी’ समयमा छायाङ्कन नहुँदा दुवै फिल्मको सेडुअल जुध्ने हो कि भन्ने चिन्ताले उनलाई सताएको छ ।

आगामी दिनमा म्युजिक भिडियो र फिल्मलाई एकसाथ अगाडि बढाउने कुसुमको सोच छ । जुन कठिन छ, उनले बुझेकी पनि छिन् । ‘म म्युजिक भिडियोबाट चिनिएकी हुँ । फिल्म अभिनय गर्दै गर्दा भिडियो खेल्दिनँ भन्न मिल्दैन,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा जुन राम्रो हुन्छ, त्यसमा लाग्छु । भिडियोबाट उदाएँ, त्यसलाई बिर्सनु भएन नि ।’

kushum sharma 3

  • वैकल्पिक पेसा नर्सिङ

कलाकारितामा सफल र भर्सटायल अभिनेत्री बन्ने सोच राखेकी कुसुमले नर्सिङ अध्ययन गरिरहेकी छन् । अभिनयमा जति व्यस्त भए पनि नर्सिङ अध्ययन नछाड्ने उनको सोच छ ।

त्यसो त नर्सिङ उनको सानैदेखिको रुचि भने होइन । कोरोनाको लकडाउनमा उनकी आमा धेरै बिरामी भएकी थिइन् । आमा बिरामी हुँदा उनले केही गर्न सकिनन् । लकडाउन भएकाले सजिलै स्वास्थ्य सेवा उपलब्ध पनि भएन । ‘आफूले केही नजानेका कारण आमा बिरामी हुँदा केही गर्न नसकेकाले पीडा भयो,’ उनले भनिन्, ‘त्यही बेलादेखि नर्सिङ पढ्छु भन्ने भयो र पढेँ ।’ 

नेपालमा नर्सिङको भविष्य नदेखेर विदेश जाने तर्खर गर्दै गर्दा उनलाई गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीतको भिडियोमा अभिनय गराएका थिए । भिडियो हिट भयो, उनले राम्रो चर्चा बटुलिन् । अहिले पनि भिडियोको काम लगातार भइरहेको छ । फिल्म पनि गर्दै छिन्, तर पनि नर्सिङ अध्ययन जारी छ ।

कलाकारितामा चर्चा हुँदाहुँदै किन नर्सिङ ? ‘नेपालको कलाकारिता भर छैन । वैकल्पिक बाटो रोज्नुपर्‍यो भने विदेश भाँडा माझ्न नपरोस् भनेर नर्सिङ अध्ययन गरिरहेकी छु,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप