बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा घर बनाउन कडा नियम : ५ तलामाथिको घरमा लिफ्ट अनिवार्य

महानगरका इन्जिनियरले नक्सा बनाउन नपाउने
मङ्गलबार, १५ फागुन २०८०, ०७ : २१
मङ्गलबार, १५ फागुन २०८०

पोखरा । पोखरा महानगरपालिका भित्र बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो । ‘१७ मिटर भन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ । लिफ्ट सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिता अनुसार हुनेछ,’ मापदण्डमा उल्लेख छ । ५ तालभन्दा अग्ला संरचना बनाउँदा माटो परीक्षण सहित संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि लेकसाइड क्षेत्रमा साढे २ तला र त्यस बाहिरका क्षेत्रमा साढे ३ तलाको घर बनाउन पाउने व्यवस्था थियो । अहिले सबैतिर ५ तलासम्मको घर बनाउन पाउने उल्लेख छ ।

जमिनको अनुपात हेरेर त्यसमाथिको संरचना पनि बनाउन पाइन्छ । तर त्यसका लागि बढी झन्झट छ । यस्ता संरचनाहरूको योजना, ढाँचा र नक्सा महानगरमा कार्यरत प्राविधिक तथा कर्मचारीले बनाउन नपाउने गरी कडाइ गरिएको छ । अहिले अधिकांश प्राविधिकहरूले अप्रत्यक्ष रूपमा आफ्नै कन्सल्टेन्सी चलाएर नक्सा निर्माण गर्दै आएका छन् । अग्ला भवन बनाउँदा इन्जिनियरिङ परिषद्मा दर्ता भएका आर्किटेक्ट वा सिभिल इन्जिनियरबाट डिजाइन र सुपरिवेक्षण गराउनुपर्ने र ५ वर्ष सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरबाट स्ट्रक्चर तथा विशेष सुविधाहरूको डिजाइन गराउनु पर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।

महानगरले २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना, सन् २००० को ल्याण्ड युज कन्सेप्ट प्लान, २०६९ को पोखरा उपत्यकाको निर्माण मापदण्ड लगाएका आधारमा अहिलेको मापदण्ड बनाइएको मेयर धनराज आचार्यले बताए । सन् १९९८ मा पोखरा महानगरपालिकाको भौगर्भिक अध्ययन गरिएको थियो । सोही अध्ययनलाई समेत मापदण्डमा समेटिएको उनको भनाई छ । मापदण्डले ३ हजार वर्गफिटभन्दा धेरै प्लिन्थको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षणको रिपोर्ट पेस गर्नुपर्ने वाद्यकारी व्यवस्था गरिएको छ । यस्तै, भवनको वरपर ४ फिटभन्दा अग्लो पर्खाल लगाउँदा पनि संरचनात्मक योजना अनिवार्य पेस गर्नुपर्नेछ । मापदण्डले जग्गाको क्षेत्रफल अनुसार भवन उचाइ कायम गर्न पाउने अवसर दिएको छ ।

महानगरका केही ठाउँ तोकेर त्यहाँ बन्ने घरहरूमा अनिवार्य अण्डरग्राउण्ड बनाउनुपर्ने व्यवस्था गरिएको छ । कोत्रेदेखि पृथ्वीचोक हुँदै हल्लनचोकसम्म सडकसँग जोडिएर बन्ने घरमा भूमिगत पार्किङ अनिवार्य गरिएको हो । पृथ्वीचोकदेखि मुस्ताङचोक विरौटा हुँदै छोरेपाटन जाने सडक, पृथ्वीचोकदेखि नयाँबजार महेन्द्रपुल हुँदै लामाचौर, बाटुलेचौर सडक, न्यूरोड क्षेत्र, चिप्लेढुंगादेखि महेन्द्रपुलसम्मको क्षेत्रमा पनि भूमिगत पार्किङ अनिवार्य छ । महानगरले नयाँ मापदण्ड कायम गरेपछि पूराना संरचनाबारे पनि बहस हुन थालेको छ । 

यसअघि नै बनिसकेका भवनहरू भने अभिलेखीकरण गर्ने महानगरको योजना छ । नगरसभाबाट भवन अभिलेखीकरण मापदण्ड पनि पारित भएको छ । नयाँ मापदण्डमा घरसँगै ताल र खोलाहरूको पनि मापदण्ड तोकिएको छ । फेवातालको मापदण्ड ६५ मिटर छ भने बेगनास र रुपा तालको १ सय मिटर कायम गरिएको छ । सडकहरूको पनि छुट्टै मापदण्ड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप