शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलहरूको बिचमा सहमति र एकता आवश्यक : नेता शर्मा

शुक्रबार, १८ फागुन २०८०, २२ : ५०
शुक्रबार, १८ फागुन २०८०

कतार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धनमा खटपटको चर्चा भइरहेको बेला नेता शर्माले राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकतामा जोड दिएका हुन् । 

जनप्रगतिशील मञ्च कतारको छैटौँ महाधिवेशनलाई शुक्रवार कतारको राजधानी दोहामा सम्बोधन गर्दै शर्माले आंशिक गठबन्धन नभई वर्तमान अवस्थामा संसदमा रहेका मुख्य दलहरूको बिचमै एकता हुनुपर्ने धारणा राखे । 

‘अब आंशिक गठबन्धन होइन, संसदमा रहेका मुख्य दलहरूको बिचमा एकता भएर राष्ट्र निर्माणमा लाग्नुपर्छ’, शर्माको भनाइ थियो,  ‘नत्र राजनीतिक स्थायित्व, विकास र समृद्धि हुन सक्दैन ।’  आम जनताको तागतलाई एकीकृत गर्दै राजनीतिक स्थायित्वद्वारा आर्थिक समृद्धि सम्भव रहेको पनि उनले बताए ।

j2

यस्तै अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलको बहुमत आउनसक्ने अवस्था नरहेकाले पनि सहमति र सहकार्य अपरिहार्य रहेको उनको धारणा थियो ।  ‘हाम्रो संवैधानिक व्यवस्थाअनुसार कुनै पार्टीको बहुमत आउने अवस्था छैन । त्यसको विकल्प भनेको सहमति हो । राजनीतिक पार्टीहरूबिचको सहमतिलाई भने संविधानले रोक्न सक्दैन’, उनले भने । 

शर्माले विदेशमा रहेका नेपाली श्रमिकको समस्या समाधान गर्न पार्टी गम्भीर रहेको भन्दै आफ्नो तर्फबाट पहलकदमी लिने प्रतिबद्धता जनाए । अर्को प्रसङ्गमा शर्माले पार्टीभित्र पनि जनवादको अभ्यास गर्ने भनेर विधान अधिवेशन गरेको भन्दै सोहीअनुसार कमिटी चयन गर्दा लोकतान्त्रिक प्रक्रियामा जाने भनेर निर्णय लिइएको बताए । अझै पनि यो सन्दर्भमा सुधार हुँदै जाने उनको विश्वास थियो । 

कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले देशमा राजनीतिक परिवर्तन भए पनि अब देशको आर्थिक समृद्धिका लागि सबै जाग्नुपर्ने बेला आएको बताए । त्यसमा पनि प्रवासमा रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । 

j1

यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले प्रवास समन्वय समिति विदेशमा रहेका नेपालीहरूको सुख दुःखमा हरहमेसा रहने प्रतिबद्धता जनाए । उनले नेपालीहरूको समस्या समाधान गर्न राजदूतावासहरू गम्भीर बन्नुपर्ने भन्दै कतिपय राजदूतहरूकै बारेमा पनि प्रश्न उठेकोबारे आफूहरू जानकार रहेको बताए । 

जनप्रगतिशील मञ्चका नेता डीबी क्षेत्रीले श्रमिकका मुद्दा उठाउने पार्टी नै माओवादी रहेको दाबी गर्दै पार्टी संगठनमा जोडिन प्रवासी नेपालीहरूलाई आग्रह गरे ।   यस्तै अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष आरके शर्माले समृद्ध नेपाल निर्माण गर्नका लागि बिदेसिएका मजदुरहरू एक भएर कलेक्टिभ इन्भेस्टमेन्टमा लाग्नु अपरिहार्य रहेको बताए ।

नेपाल सरकार र सम्पूर्ण राजनीतिक दलले बिदेसिएका मजदुरहरूको मुद्दा सम्बोधन नगरे उनीहरूलाई नै अघि बढ्न गाह्रो भएको बताए । कार्यक्रममा मञ्चका अध्यक्ष बुद्धि भण्डारी, क्षेत्रीय संयोजक शनि कुमार ओलीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप