बुबा–आमाले फिटनेसका लागि फुटबल खेलाए, उनले करियर नै बनाइन्
विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि गीता राना, रेखा पौडेल, प्रीति राई, पूजा रानाको खेलको सबैतिर चर्चा भयो ।
गत फागुन १६ गते बुधबार लेवनानसँगको प्रतिस्पर्धामा नेपाल २–१ ले विजयी हुँदा इन्जुरी टाइमको अन्तिम मिनेटमा प्रीति राईले गरेको गोलले नेपालमा सर्वाधिक चर्चा पायो । अहिले पनि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
प्रीतिको सोही गोलले नेपालले फाइनलको यात्रा तय गरेको थियो । डिबक्सभन्दा बाहिरबाट प्रीतिले गरेको यो गोल हेर्न लायक छ । उनले गरेको गोलको प्रशंसा अहिले सारा नेपालीले गरिरहेका छन् ।
- प्रीतिको फुटबल करियर
प्रीति राईको फुटबल करियर ७ वर्षको हुँदादेखि सुरु भएको उनका अभिभावक बताउँछन् । ७ वर्षको उमेरदेखि उनी फुटबल खेल्न थालिन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ तुमाउ स्थायी ठेगाना भए पनि प्रीति भने काठमाडौँमै जन्मिएकी हुन् ।
उनका बुबा चन्द्रप्रसाद राई ट्रेकिङ लाइनमा काम गर्छन् । आमा ज्ञानमाया राई भने काठमाडौँको कपनमा सानोतिनो चिया पसल चलाएर गुजारा गरिरहेकी छिन् ।
नेपाली महिला टोली वाफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल पुग्न प्रीतिले गरेको गोलले उनको व्यापक चर्चा भयो । आमा ज्ञानमायालाई पनि छोरीप्रति सारा नेपालीले दर्साएको मायाले खुसी दिएको छ ।
‘छोरीले खेलेका सबै गेम पहिलेदेखि नै परिवार नै बसेर हेर्छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म छोरी रहेको टिमले गोल्ड मेडल चाहिँ ल्याएको छैन । हामी पनि गोल्ड मेडल ल्याओस् भन्ने प्रतीक्षामा छौँ । तर, छोरीले गरेको गोल र चर्चाले मलाई धेरै खुसी लागेको छ ।’
प्रीति अहिले १९ वर्षकी भइन् । उनी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन् । ७ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको र एकेडेमीमा पनि आफैँ खोजेर गएको आमा ज्ञानमाया बताउँछिन् ।
भुटान, बंगलादेश, म्यानमार, चीनसम्म पुगेर दर्जनौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेकी छोरीलाई आफूहरूले सकेसम्म सहयोग गरेको उनी बताउँछिन् । ‘सानोमा मात्रै हामीले सानोतिनो लगानी गरेका हौँ । अहिले लगानी गर्नुपरेको छैन । एक्स्ट्रा एक्टिभिटीमा लगाउनु पर्छ भनेर हामीले पनि उनलाई सहयोग गरिरहेका छौंँ,’ ज्ञानमायाले भनिन् ।
प्रीति आमा ज्ञानमाया र बुबा चन्द्रप्रसादको पहिलो छोरी हुन् । उनको जुम्ल्याहा भाइ राम लक्ष्मण छन् । उनीहरू पनि ब्याचलर पहिलो वर्षमा अध्ययनरत छन् । ‘छोराहरू चाहिँ लोकल टुर्नामेन्ट खेल्छन् । तर नेसनलतिर गएनन्,’ आमा ज्ञानमायाले भनिन् ।
प्रीति अहिले पनि भारतको किक स्टार क्लबमा अनुबन्धित रहेको आमा ज्ञानमायाले बताइन् । ‘दीपा शाही र प्रीति किक स्टारमा खेलिरहेका छन् । ४ महिनाको लागि अनुबन्ध गरेको सुनेको हुँ,’ उनले भनिन् ।
छोरीले पैसाभन्दा पनि नाम कमाइरहेको उनले सुनाइन् । फाइनलमा नेपाल पराजित हुनुमा प्रीति आउट हुनु र सावित्रा भण्डारी टिममा नहुनु नै कारण भएको उनले सुनाइन् ।
परिवारै बसेर खेल हेरेकी ज्ञानमायाले खेल हार्नुका कारण बताउँदै भनिन्, ‘प्रीति घाइते नभएको भए खेल जितिरहेको थियो नि । पहिलो हाफमा त नेपालले जितेकै हो नि । दोस्रो हाफमा पनि बराबर गर्यो । तर, पेनाल्टीमा मिस नगरेको भए हुन्थ्यो । हुन त गेममा गल्ती हुन्छ । तर गोल्ड मेडल ल्याउने चाहना पुरा भएन ।’
खेल हारेपछि आफूलाई तनाव भएको उनले सुनाइन् । ‘तनाव भयो नि हामीलाई त । सावित्रा भण्डारीलाई खेलाएको भए सजिलै जित्थ्यो नि । ऊ नभएकोले पनि कति कुरा आवश्यक देखिएको थियो । त्यसमा पनि हाम्रो नेपालले गोल हानेपछि आशा पलाएको थियो । उताबाट हानेको गोल अफसाइड गोल थियो । तर, रेफ्रीले मानेन नि । खै के खै के जस्तो भयो । छोरी पनि घाइते भयो,’ उनले भनिन् ।
घाइते छोरीसँग उनले शुक्रबार बिहानै फोन गरिन् । ‘चोट सामान्य छ भन्दैथिन् । आमाको मन चिन्ता त भइहाल्छ नि । तर, लड्दै खेल्दै, लड्दै गरेकै कारण त्यो ठाउँमा पुगेको हो । तर, अब गोल्ड मेडल नल्याउने पो हो कि ? लास्टमा आफ्नो हातमा आएको ट्रफी नै गुमेको जस्तो लागिरहेको छ हौ मलाइ त,’ उनले भनिन्, ‘सबै निराश भइयो नि । मैले आफ्नो छोरी भएर मात्रै भनेको होइन । नेपाली भएर सोच्दा पनि यस्तै लाग्छ ।’
उनका बुबा चन्द्रप्रसादले आफूहरूले भन्दा छोरी प्रीतिले आफैले यो स्थानसम्म पुग्नका लागि धेरै संघर्ष गरेको बताए । ‘उसले आफ्नो तर्फबाटै धेरै संघर्ष गरेको छ । हामीले उसलाई रोकेका छैनौँ,’ उनले भने ।
फाइनल हारेपछि भने खल्लो महसुस भएको उनले सुनाए । ‘फाइनल हारेपछि कस्तो खल्लो भयो नि । तर, उत्कृष्ट प्रदर्शन गर्यो ।’ अर्कोपटक यो टिमले पक्कै मेडल ल्याउने उनले विश्वास व्यक्त गरे ।
आफ्नो छोरीलाई शारीरिक विकासको लागि अतिरिक्त क्रियाकलापमा भाग लिन लगाएको तर छोरीले फुटबललाई नै करियर बनाएको उनले सुनाए । ‘शारीरिक विकासको लागि हल्का पार्ट टाइममा खेल खेलाऊँ भन्ने चाहना थियो । तर, यसलाई करियर बनाएर जाओस् भन्ने मेरो चाहना थिएन । तर, उसले फुटबललाई आफ्नो करियर बनायो,’ उनले भने, ‘अभिभावको रूपमा चिन्ता लागिरहन्छ ।’
उनलाई नेपालको खेल क्षेत्रमा लागेर करियर सुरक्षित होला भन्ने लाग्दैन । ‘खेल क्षेत्रमा कति बजेट छ । यसको भविष्य सुरक्षित छैन भन्ने चिन्ता चाहिँ लागिरहन्छ । उसले खेलकै कारण पढाइमा राम्रो ध्यान दिन सकिरहेको छैन,’ उनले भने ।