आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

शनिबार, १९ फागुन २०८०, १८ : ५२
शनिबार, १९ फागुन २०८०

बनियानी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताए ।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रङ्गशालामा पूर्वाधार विकास गर्न नसकिएको उनको भनाइ थियो । “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौँ खर्च भइरहेको छ । सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रङ्गशाला संरक्षण गर्नुपर्छ”, उनले भने, “राम्रो रङ्गशाला बनाउन तपाईँहरूसँगै म पनि लाग्छु ।”

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले जनस्तरबाट सहयोग सङ्कलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताए ।
प्रतियोगिताको उद्घाटन खेल सङ्कटा र एपिएफबीच हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकप यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले नगद रू १३ लाख पाउनेछन् भने उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप आयोजना गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप