गठबन्धनमा गम्भीर समस्या, नेताहरूको दौडधुप

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बढाएका छन् ।
विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरूले दौडधुप तीव्र बनाएका हुन् । वर्तमान सत्ता गठबन्धनमा बढ्दो खटपटकै कारण आइतबार बसेको कानुन समितिको बैठकमा टीआरसीको विषयमाथिको छलफलसमेत पर धकेलिएको छ।
यहीबिचमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितका नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जाँदैछन् । नेता पुनले गठबन्धनमा गडबढ रहेको स्विकार्दै आफूहरू छलफलका लागि बालुवाटार जान लागेको रातोपाटीलाई बताए । ‘मतभेद बढेको साँचो हो । हामी छलफलमा छौँ’, छिट्टै एउटा निष्कर्ष आउला’, उनले भने ।
यसैगरी नेपाली कांग्रेसका नेता रमेश लेखक गठबन्धनको भविष्य प्रधानमन्त्री प्रचण्डको हातमा रहेको बताए । ‘अब गठबन्धनको भविष्य प्रधानमन्त्रीको हातमा छ ’, उनले भने ।
यसैगरी नेकपा एमालेका नेताहरू पनि बालकोट केन्द्रित भएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचेतक महेश बतौलालगायतका नेताहरू अध्यक्ष केपी ओलीको निवास बालकोटमा भेला भएका छन् ।
आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा टीआरसीको विषयमा छलफल भएको दाबी गरिएपनि गठबन्धनको खटपटका साथै आगामी यात्राबारे छलफल भएको बताइएको छ ।
पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहितको समर्थनमा प्रधानमन्त्री भएपछि कांग्रेस सत्ता विमुख भएको थियो ।
एमाले नेतृत्वको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सातवटै प्रदेश र संघमा सरकारबाट बाहिर रह्यो । तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको ‘कमब्याक’ भएको थियो ।
अहिले गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायत सम्बद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल