सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

नयाँ सत्ता समीकरणको प्रभाव : कांग्रेसका ३८ मन्त्रीको पद धरापमा

सोमबार, २१ फागुन २०८०, ११ : ३२
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसका केन्द्रदेखि प्रदेशसम्म ३८ मन्त्रीको पद धरापमा परेको छ । सत्तासीन माओवादी केन्द्रले एमालेसहितका दलसँग सत्ता सहकार्य अगाडि बढाएपछि कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको पद धरापमा परेको हो ।

माओवादी  केन्द्रले एमालेसहितको गठबन्धन रोजेपछि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि कांग्रेसको साथ छाड्ने सङ्केत गरेका छन् । सत्ता राजनीतिमा कांग्रेस एक्लिएसँगै केन्द्रदेखि सातै प्रदेशमा सरकार सत्ताविमुख हुने निश्चित देखिएको हो । सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण निर्माण गरेर जाने निर्णय गरिसकेको छ ।

केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए ।

सात प्रदेशमध्ये चारमा नेतृत्व र तीन प्रदेश सरकारमा कांग्रेसको सहभागिता छ । कोशी प्रदेशमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा सरकार छ । कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, प्रदीप सनुवार, स्वास्थ्यमन्त्री, रामकुमार खत्री कृषि तथा सहकारी मन्त्री छन् ।

कांग्रेसबाट कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरुङ राम छन् ।

जसपा नेतृत्वको मधेस प्रदेशमा कांग्रेसका तीन जना मन्त्री छन् । कांग्रेस मधेस प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार, उपसभापति वीरेन्द्र सिंह सामाजिक विकास र नेता मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री छन् ।

बागमती प्रदेशका १२ मध्ये कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइ, मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री छन् ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सात सदस्यीय गण्डकी प्रदेश मन्त्रिपरिषद्मा ७१ प्रतिशत कांग्रेसको उपस्थिति छ । गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीका साथै चार जना मन्त्री छन् ।

कांग्रेसका सरस्वती आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी, महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था, जितप्रकाश आले आर्थिक मामिला र दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कमान्ड सम्हालिरहेका छन् । लुम्बिनी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार छ ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसबाट राजु खनाल स्वास्थ्य र सरोज थापा उद्योग तथा यातायात व्यवस्था मन्त्री छन् ।

कर्णाली प्रदेश सरकारमा कांग्रेसका ३ जना मन्त्री सहभागी छन् । वेदराज सिंह आर्थिक मामिला तथा योजना, खड्गराज पोख्रेल सामाजिक विकास, कृष्णकुमार विसी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

अहिले कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । 

कांग्रेसबाट केन्द्रमा ९ र प्रदेशमा मुख्यमन्त्रीसहित २९ जना मन्त्री छन् । केन्द्रमा बनेको नयाँ सत्ता समीकरण हेर्दा सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्था छैन । कांग्रेसले नेतृत्व गरेको चार प्रदेशमा एक महिनासम्म मन्त्रीको पद जोगिन सक्ने भए पनि अन्य प्रदेशका कांग्रेसका मन्त्रीको पद तत्काल जाने निश्चित छ । सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिन मिल्ने व्यवस्था छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अब कांग्रेस प्रतिपक्षमा रमाउने बताए । ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के नै गर्न सक्छौँ,’ लेखकले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप