सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

नयाँ सत्ता समीकरणबारे निर्णय लिन जसपा, लोसपा र जनमत पार्टीको बैठक बस्दै

सोमबार, २१ फागुन २०८०, १२ : ४६
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । बदलिँदो राजनीतिक परस्थितिको बारेमा छलफल गर्न पार्टीहरु आन्तरिक छलफलमा व्यस्त देखिएका छन् । पार्टीका नेताहरुको दौडधुप बालुवाटारदेखि बुढानिलकण्ठ, बालकोटसम्म बाक्लै छ । त्यसक्रममा मधेश केन्द्रीत दलहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका नेताहरु बिहानैदेखि आफ्नो पार्टीमा अनौपचारिक छलफलमा व्यस्त छन् ।

 बदलिँदो परस्थितिको बारेमा नेताहरुले छलफल टुग्यांएपछि ती पार्टीहरुले आ–आफ्नो दलमा औपचारिक बैठक बोलाएका छन् । जसपाको अनौपचारिक छलफल सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समीकरणका बारेमा नेताहरुलाई ब्रिफङ गरेका छन् । 

आफ्नो बटमलाइनका बारेमा थप छलफल गर्न उनी अहिले बालुवाटार पुगेका छन् । जसपा सरकारमा जाने लगभग निश्चित छ । सरकारको नीति तथा कार्यक्रम, अगामी योजना, जसपाको माग लगायतको विषयमा अध्यक्ष यादवले बालुवाटारमा छलफल गरेर फर्केपछि आजै ४ बजे कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठकमा बालुवाटारको कुरा ब्रिफङ गरेर थप निर्णयहरु लिने बताइएको छ । 

जसपा कार्यालयका सचिव सीपी सिंहका अनुसार नेताहरुका बिचमा अनौपचारिक छलफल सकिएको र औपचारिक बैठक दिउँसो ४ बजे बस्नेछ । ‘अध्यक्ष यादव बालुवाटार छलफलका लागि जानुभएको छ, उहाँ फर्केपछि कार्यकारिणी समितिको बैठक बस्ने छ’ उनले भने
त्यस्तै, हालसम्म सत्ता पक्षमा रहने कि विपक्षमा रहने भन्ने अन्यौलतामा रहेको लोसपाले १ बजे पदाधिकारीको बैठक बोलाएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक बोलाइएको सो पार्टीका सचिव मनिष मिश्रले बताए । बदलिँदो राजनीतिक परस्थितिका बारेमा केही ठोस निर्णय गर्नका लागि बैठक बोलाएको उनले बताए ।  ‘सत्ता पक्षमा जाने कि विपक्षमा बस्ने सबै कुराको निर्णय बैठकबाट हुन्छ’ उनले भने ।

त्यस्तै, जनमत पार्टीको बैठक पनि आजै  १ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा बस्ने सो पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि अनामनगरस्थित पार्टी कार्यालयमा संसदीय दलसहित पदाधिकारीको बैठक बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप