आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

सत्तामा एमालेको ‘कम ब्याक’, कसरी बन्यो नयाँ समीकरण ?

सोमबार, २१ फागुन २०८०, १७ : १२
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत केही सयमयता धेरै उच्चारण गर्ने शब्द हो, ‘एमाले सत्ता परिवर्तनको फोहोरी खेलमा लाग्दैन । बरु जनताको मन जितेर मत ल्याएरै २०८४ सालमा हुने निर्वाचनमार्फत एमाले एक्लैले बहुमतको सरकार बनाउँछ ।’

तर, ओलीले जे भन्ने र बोल्ने गरेका थिए ठिक विपरीत कदम पनि चालिरहेका थिए । अर्थात् ओली मिसन ०८४ को अलवा ‘ट्र्याक टु’ गतिविधिमा पनि उतिकै सक्रिय थिए । बोलीमा सत्ता परिवर्तन र सरकार बनाउने/हटाउने खेलमा नलाग्ने भन्ने उनै ओलीले भित्रभित्रै सत्ता परिवर्तनका लागि शक्ति खर्चेर गृहकार्य समेत गरिरहेका थिए ।

यतिसम्मकी उनले फागुन ८–१० मा बसेको केन्द्रीय समितिको सातौँ बैठकमा नेताहरूलाई वामपन्थी एकता र सरकार परिवर्तनको कुरा नगर्न निर्देशन नै दिएका थिए । ‘तपाईंहरुले वामपन्थी एकता र सरकार परिवर्तनको गीत गाउन जरुरी छैन, गीत गाएर त्यो सम्भव पनि छैन, आवश्यक परे म आफै त्यसको प्रयास गर्छु । तपाईंहरु पार्टी निर्माणमा केन्द्रित हुनुस्’, बैठकमा ओलीले नेताहरूलाई भनेका थिए ।

तर त्यसअघि नै अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्काउन आफ्ना विश्वास पात्रहरूलाई खटाइसकेका थिए । त्यसको जिम्मा पाएका थिए–उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेलले । पौडेललाई मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सङ्कलित सुझावहरू कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई बुझाएको सुझावपत्रको सहजीकरण गर्ने जिम्मा पनि ओलीले दिएका थिए ।

उता माओवादीबाट भने उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता समीकरणका लागि गृहकार्य गरिरहेका थिए । पौडेल र पुनको बिचमा सहमतिमा प्रचण्ड र ओली सहमत भएपछि नयाँ सत्ता समीकरण बन्न सफल भएको हो । यस्तै नेकपा एमाले सोमबारदेखि प्रमुख प्रतिपक्षबाट सत्ता साझेदार दलमा परिवर्तन हुन पुग्यो ।

 

कांग्रेस नेतृत्वको गठबन्धन बनेदेखि नै ‘अप्राकृतिक गठबन्धन’ को संज्ञा दिएको एमालेले यो गठबन्धन भत्काएरै छाड्ने घोषणा त गरेको थियो, तर सफल हुन सकिरहेको थिएन ।  कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आएको खटपट र अविश्वासले नयाँ समीकरण बनाउन र गठबन्धन भत्काउन  एमालेका लागि सहज बनिदियो । ‘यही बिचमा बजेट र नीति तथा कार्यक्रममा अर्थमन्त्री र प्रधानमन्त्रीको खटपट, कांग्रेस महासमितिमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पेस गरेका प्रस्ताव, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस माओवादी अन्तर्घात, मन्त्रीको हेरफेरमा कांग्रेसको अड्को लगायतका मुद्दा ‘पेचिलोे बन्दै गएका थिए । जसले गर्दा रास्वपा र जसपालाई समेत समेटेर नयाँ समीकरण बन्न सहज भयो’, एमालेका एक सचिवालय सदस्यले भने, ‘त्यसमा  पछिल्ला राजनीतिक घटनाक्रमहरू कोशी सरकार फेरबदल होस् वा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले सत्ता साझेदार दल कांग्रेस र माओवादीसँग सहकार्य गर्न चाहेको थियो ।’ तर यी अघिल्ला दुई प्रयासमा असफल भएको एमाले तेस्रो चरण राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको छेकमा भने कांग्रेससहितको गठबन्धन भत्काउन सफल हुन पुग्यो । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।  

आइतबार दिनभर र सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन निर्माण गर्न एमाले, माओवादी र रास्वपाका केही जिम्मेवार नेताहरु अहोरात्र खटिएका थिए । तर उनीहरूले अवस्था परिपक्क नभएसम्म ‘टिआरसीमा छलफल’ भनेर टार्दै आएका थिए । जव आइतबार राति खासगरी एमाले, माओवादी र रास्वपा नयाँ सत्ता समीकरणका लागि एक ठाउँमा उभिनसक्ने निष्कर्षमा पुगे त्यसपछि पुरानो गठबन्धन भत्कने र नयाँ बन्ने समाचारहरू फैलन पुगे ।

कांग्रेससहितको गठबन्धन भत्किएसँगै तत्काल चार पार्टीको नयाँ गठबन्धन वा सत्ता सहकार्य हुने भएको छ । जसमा एमाले, माओवादी, रास्वपा र जसपा छन् । यसअघि सत्ता गठबन्धनमा रहेका लोसपा, जनमत, नाउपा लगायतका पार्टीबारे भने नयाँ गठबन्धनमा अटाउने नअटाउने निश्चित भैसकेको छैन । 

एक वर्षपछि एमालेको सत्तारोहण

नयाँ सत्ता समीकरण बनेसँगै संघदेखि प्रदेश सरकारसम्मबाट बाहिरिन पुगेको नेकपा एमाले ठिक एक वर्षपछि पुन सत्तामा फर्किएको छ । संघ सरकारबाट सत्ता यात्रा सुरु गरेको एमाले प्रदेशमा पनि पुग्नेछ । स्रोतका अनुसार औपचारिक सहमतिको ड्राफ्ट सार्वजनिक भइनसकेपनि अबको चार वर्षमध्ये प्रचण्ड र ओली दुई दुई वर्ष प्रधानमन्त्री हुनेछन् । त्यस्तै प्रदेश सरकारमा पनि सत्ता साझेदार दलहरूको विश्वास जित्दै सोही अनुसार समीकरण मिलाइने छ ।

नयाँ निर्वाचनपछि २०७९ साल पुस १० एमाले–माओवादीसहितका दल मिलेर बनेको गठबन्धन बिचमै तोडिएपछि एमाले सोही बर्षको फागुन १६ गते संघ सरकारबाट बाहिरिएको थियो । फरक यति हो त्यसबेला राष्ट्रपति निर्वाचनको संघार थियो भने अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सम्मुख छ ।

एक वर्षअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तत्कालीन समयमा एमाले, माओवादी, जसपा, रास्वपा र राप्रपासहितको गठबन्धन तोडेर चुनावताकाकै कांग्रेस नेतृत्वको गठबन्धन सम्हालेका थिए । उनले त्यसबेला फेरिएको समीकरण पाँचै वर्ष टिक्ने दाबी गरेका थिए । जसमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आलोपालो प्रधानमन्त्री हुने सहमति थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप