शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ समीकरण अनुसार मधेसमा सरकार बनाउन कठिन

सोमबार, २१ फागुन २०८०, १५ : ४५
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेश सरकारहरूको भविष्यमाथि समेत प्रश्न खडा भएको छ । जस अनुसार मधेस प्रदेशमा राजनीतिक सङ्कट बढ्ने देखिएको हो ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुने चर्चा छ । तर मधेसको सवालमा जसपा नेपाल र जनमत पार्टी विपरीत दुई ध्रुवमा उभिएका छन् । त्यसैले सत्ता गठबन्धनमा एउटा दललाई काखी च्याप्नासाथ अर्को दल असन्तुष्ट हुने अवस्था सिर्जना भएको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । तर नयाँ गठबन्धन अन्तर्गत एमालेको २३, माओवादी केन्द्रको ९, जसपा नेपालको १८ सांसद छन् । यीमध्ये एमालेका रामचन्द्र मण्डल सभामुख भएका कारण ती दलको सांसद सङ्ख्या ४९ मात्र हुन्छ । बहुमतका लागि यो गठबन्धनलाई कम्तीमा अन्य पाँच सांसदको समर्थन आवश्यक देखिन्छ ।

तर, केन्द्रको सत्ता गठबन्धनमै सामेल हुन सकारात्मक रहेको जनमत पार्टीले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेको छ । अर्कोतिर जसपाले पनि मधेस सरकारको नेतृत्वलाई ‘बटमलाइन’ बनाएरमात्र केन्द्रको गठबन्धनमा आफूलाई सामेल गर्ने प्रस्ट पारिसकेको छ ।

जसपा र जनमत पार्टीबिचको यो ध्रुवीकरणका कारण पनि नयाँ गठबन्धनलाई मधेसमा सरकार गठन गर्न कठिन हुने देखिएको हो । यस्तो अवस्थामा लोसपा नेपाल निर्णायक हुने देखिन्छ । प्रदेशसभामा लोसपा नेपालको ८ सांसद (९ मध्ये एक सांसद निलम्बनमा रहेका) छन् । तर लोसपाले मधेस सरकारबारे अझै आफ्नो औपचारिक धारणा बनाइसकेको छैन ।

अर्कोतिर कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन पनि ‘पर्ख र हेर’ को अवस्थामा छ । कांग्रेससँग २२, नेकपा एकीकृत समाजवादीसँग ७, जनमत पार्टीसँग १३, लोसपा नेपालसँग ८ सांसद छन् । यो गठबन्धनबाट पनि बहुमतको दाबी गर्नका लागि स्वतन्त्र र साना दलमध्येबाट कम्तीमा अन्य चार सांसदको समर्थन जुटाउन आवश्यक हुन्छ ।

  • जनमतको दाबी– जसपाको नेतृत्व मान्दैनौँ

जसपा नेतृत्वको सरकारमा आफू कुनै पनि हालतमा सहभागी नहुने र समर्थन नजनाउने जनमत पार्टीले प्रस्ट पारेको छ ।

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले रातोपाटीसँग भने, ‘हामी जसपा नेपालको नेतृत्व मानेर सरकारमा जाँदैनौँ, समर्थन पनि गर्दैनौँ ।’

उनले सोमबार पार्टीको सचिवालय बैठक सकिएको र ठोस निर्णय भने नभएको बताए । यद्यपि मधेस प्रदेशको सवालमा जसपा रहेको सरकारमा आफ्नो पार्टी सहभागी नहुने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप