उपाधिमाथि बलियो पकड जमाउँदै इन्टर मिलान
काठमाडौँ । जारी सिजनको प्रारम्भदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको इन्टर मिलानले इटालियन सिरिए उपाधि चुम्ने सम्भावना बलियो बनाएको छ । इन्टर मिलानले सिरिए फुटबलको सोमबार राति खेलिएको खेलमा जेनोआमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
जितसँगै इन्टर मिलानले तालिकाको दोस्रो स्थानमा आसिन युभेन्ट्ससँग १५ अंकको अग्रता हासिल गरेको छ । लिग लिडर इन्टर मिलानले घरेलु मैदानमा खेलिएको खेलमा दुबै गोल पहिलो हाफमै गरेको थियो ।
खेल सुरु भएको ३०औँ मिनेटमा इन्टर मिलानका लागि क्रिस्टियन एसलानीले पहिलो गोल गरेका थिए । ३८औँ मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
खेलको दोस्रो हाफमा जेनोआले एक गोल फर्काएको थियो । निर्धारित समयको ५४औँ मिनेटमा जेनोआका लागि जोन भासक्वेजले जवाफी गोल गरेका थिए ।
जारी सिजनको लिगमा सबै टोलीले २७ खेल खेलिसक्दा इन्टर मिलान ७२ अंकसहित तालिकाको पहिलो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा आसिन युभेन्ट्सले भने ५७ अंकमात्र जोड्न सकेको छ ।
एसी मिलान ५६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ५१ अंकसहित बोलोग्ना चौथो र ४७ अंकसहित रोमा पाँचौँ स्थानमा आसिन छन् । ३३ अंकसहित जेनोआ १२औँ स्थानमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण