सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो

मङ्गलबार, २२ फागुन २०८०, १४ : ५५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओपनर ब्याट्सम्यान माइकल लेभिटले ५४ रनको योगदान गरे । डच टोलीका लागि साइब्रान्डले पनि ४८ रनको योगदान गरे । बिक्रमजित सिंहले २९ रन बनाए भने म्याक्स ओ’डडले पनि २२ रन बटुले ।

टिम भान डर गुटेनले पनि टोलीको खातामा अविजित २१ रन थपे । उनले पाँच बलमा दुई छक्का र दुई चौका प्रहार गरे । रेलोफ भान डर मर्वे दुई रनमा अविजित रहे । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा नौ रन पाएको थियो ।

नेपाली टोलीका बलर कुलश मल्ल एक्लैले चार विकेट लिए । उनले तीन ओभरमा ३३ रन खर्चिएका थिए । दीपेन्द्रसिंह ऐरी र अविनाष बोहराले पनि एक–एक विकेट हात पारे । प्रारम्भमा नेपाली टोलीका बलरहरु खासै प्रभावकारी देखिएका थिएनन् । त्यसैले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यानले ८३ रनको साझेदारी गरेका थिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले ४७ रनको योगदान गरेका थिए । आसिफ र कुशल भुर्तेलले ओपनिङ विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल २० रन बनाउँदै आउट भएका थिए ।

कप्तान रोहित पौडेलले २५ रन बनाए भने चौथो नम्बरका ब्याट्सम्यान गुलसन झाले टोलीका लागि ३४ रनको योगदान गरेका थिए । कुशल मल्लले पनि टोलीको खातामा २६ रन थपेका थिए । डच टोलीका बलर फ्रेड क्लासिन, टिम भान डर गुटेन, माइकल लेभिट र साइब्रान्डले दुई–दुई विकेट लिए । नेपालले अतिरिक्त रुपमा १० रन पाएको थियो ।

नेदरल्यान्ड्सको पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले डच टोलीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई २२ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । म्याक्सले २३ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । ८.१ ओभरमा म्याक्स आउट हुँदा नेदरल्यान्ड्सले ८३ रन बनाएको थियो ।

त्यसलगत्तै नेदरल्यान्ड्सका अर्का ओपनर माइकल लेभिट पनि पेभेलियन फर्किएका थिए । उनको विकेट पनि कुशल मल्लले लिएका थिए । कुशल मल्लले उनलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि लेभिटले ५४ रन बनाएका थिए । उनले २९ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । ८.५ ओभरमा लेभिट आउट हुँदा डच टोलीले ८४ रन बनाएको थियो ।

डच टोलीको तेस्रो विकेट अविनाष बोहराले लिएका थिए । उनले बिक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए । १५.२ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको थियो ।

नेदरल्यान्ड्सको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले डच टोलीका कप्तान स्कट एडवार्डसलाई दुई रनको ब्यक्तिग स्कोरमा अनिल साहद्वारा क्याच गराएका हुन् ।  १६.१ ओभरमा स्कट आउट हुँदा नेदरल्यान्ड्सले एक सय ४१ रन बनाएको छ ।  

नेदरल्यान्ड्सको पाँचौँ विकेट कुशल मल्लले लिए । उनले डच ब्याट्सम्यान साइब्रान्डलाई ४८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले उनलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । आउट हुनुअघि साइब्रान्डले २९ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४८ रन बनाएका थिए । कुशल मल्लले लिएको यो तेस्रो विकेट हो । १८.१ ओभरमा साइब्रान्ड आउट हुँदा नेदरल्यान्ड्सले एक सय ६६ रन बनाएको छ ।

नेदरल्यान्ड्सको छैटौँ विकेट पनि कुशल मल्लले नै लिएका थिए । उनले नेदरल्यान्ड्सका तेजा निदामानुरुलाई दुई रनको ब्यक्तिगत स्कोरमा परिवर्तित खेलाडी सन्दीप जोराद्वारा क्याच गराएका थिए । कुशल मल्लले लिएको यो चौथो विकेट हो । १८.४ ओभरमा तेजा आउट हुँदा नेदरल्यान्ड्सले एक सय ७३ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी २० रन बनाउँदै आउट भएका थिए । यसक्रममा उनले केवल १० बलमा दुई छक्का र एक चौका पनि प्रहार गरेका थिए । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका बलर भान डर गुटेनले बोल्ड गरेका थिए । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले २३ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी २५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले १९ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । उनलाई डच बलर माइकल लेभिटले कप्तान स्कट एडवार्डद्वारा क्याच गराएका थिए । ९.२ ओभरमा रोहित आउट हुँदा नेपालले ८२ रन बनाँएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान असिफ शेखलाई गुमाएको थियो । आसिफ ४७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी केवल तीन रनका कारण टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ अर्धशतक पुरा गर्नबाट चुकेका थिए ।

२२ वर्षीय आसिफले पेभेलियन फर्किनुअघि केवल ३७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई डच बलर लेभिटले एलबीडब्लूको धरापमा पारेका थिए । लेभिटले लिएको यो दोस्रो विकेट हो । १३.४ ओभरमा आसिफ आउट हुँदा नेपालले एक सय २५ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी तीन बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । दीपेन्द्रलाई भान डर गुटेनले एलबीडब्लूको धरापमा पारेका हुन् । गुटेनले लिएको यो दोस्रो विकेट थियो । १४.३ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर साइब्रान्डले बिक्रमजित सिंहद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । करण केसी चार बलमा एक छक्काको मद्दतले नौ रन बनाउँदै आउट भएका थिए । उनलाई पनि डच बलर साइब्रान्डले बिक्रमजित सिंहद्वारा नै क्याच गराएका थिए । १८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी टोलीका लागि ३४ रनको योगदान गर्दै पेभेलियन फर्किएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका गुलसनले केवल २५ बलको सामना गरी तीन छक्का पनि हिर्काएका थिए । उनलाई डच बलर फ्रेड क्लासिनले सारिज अहमदद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई पनि डच बलर क्लासिनले नै लेभिटद्वारा क्याच गराएका थिए । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६८ रन बनाएको थियो । सोमपाल कामीले पाँच बलमा एक चौकाको मद्दतले अविजित ६ रन बनाए । प्रतिस जिसीले पनि पाँच बलमा अविजित ६ रन बटुले । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप