सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ताविमुख कांग्रेस : बूढानीलकण्ठमा हँस्सीमजाक, साना दलले खेलाउने प्रवृत्ति रोक्न तीन ठाउँबाट उपचार खोजिने

‘अहिले प्रचण्डले उथलपुथल गरे, केही दिनमा कांग्रेसले गर्छ’
मङ्गलबार, २२ फागुन २०८०, २२ : ०१
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेस सत्ताविमुख भएको छ । मंगलबार अपराह्न पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कांग्रेस औपचारिक रूपमा सत्ताबाट बाहिरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न बहानाबाजी गरेर गठबन्धन फेरेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउन बनाएका बहानामा पार्टी नअलमली नयाँ ढङ्गले अगाडि बढ्ने कांग्रेसको रणनीति देखिन्छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोड्न प्रधानमन्त्री प्रचण्डबाट भएको बहानाबाजी सुनाएका थिए ।

कांग्रेसका कारण गठबन्धन फेरेको भन्नु प्रधानमन्त्रीको कुतर्क भएको महामन्त्री गगन थापाले बताए । ‘प्रधानमन्त्रीले अहिले नफेरे असारमा फेर्थे । कोशी प्रदेशको प्रकरण, निवर्तमान अर्थमन्त्री प्रकाशशरण महत र कांग्रेस महासमिति बैठकको दस्ताबेजका कारण गठबन्धन फेरेको भन्ने कुतर्कमा कांग्रेस अलमलिँदैन,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई आतङ्ककारी भनेको अस्ति मात्रै होइन ? केही दिनअघि मात्र १७ हजार प्लस २ भनेर नारा लगाएको होइन ? उनीहरूसँग गठबन्धन गर्नेले कांग्रेसले जनयुद्ध अनावश्यक थियो भन्याे भन्न मिल्छ ?’

प्रधानमन्त्रीले पार्टीका साथीहरूले कांग्रेससँगको गठबन्धन अगाडि बढाउन मानेन भन्ने कुरा पनि बहानाबाजी मात्र भएको थापाले बताए । ‘माओवादी केन्द्रलाई हामीले नबुझेको हो र ? कांग्रेससँग गठबन्धन गर्न सहमत भएको भए माओवादीका नेताहरूलाई कन्ट्रोल गर्न कुनै समस्या थिएन । राष्ट्रियसभा निर्वाचनमा एमालेलाई ६ सिट दिएर भए पनि मिलाउन प्रचण्ड मरेर लागेका थिए । त्यतिबेला ओलीले नमानेर हो,’ उनी भन्छन् ।

यतिबेला गठबन्धन भत्किनुमा कांग्रेसभित्र एक अर्कालाई दोष लगाउने पक्षमा नेताहरू नभएको उनले बताए । ‘आरोप, प्रत्यारोपमा नलागौँ । माओवादी अहिले नदिए दुई चार महिनाभित्रै धोका दिन्थ्यो । टाइममा दियो केही छैन । पार्टी बलियो बनाऔँ । आफ्नो बाटो जाँदै गरौँ,’ बैठकमा नेताहरूको भनाइ थियो । एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनको सरकार आफ्नै भारीले थिचिने उनको भनाइ थियो ।

‘यो सरकारबारे चिन्तै नगरौँ । यो आफ्नै भारीले थिचिन्छ । यो हिँड्न त सक्दैन,  दौडिनु त परको कुरा हो । विचित्रका पार्टीहरू मिलेर बनेको सरकारबारे धेरै चिन्ता गर्ने कुरा छैन । आफ्नो काम गरौँ ,’ उनले भने ।

कांग्रेसमा अहिले पुस १० मा सत्ता गुम्दा जस्तो सन्नाटा छैन । नयाँ गठबन्धनको सबै तवरले प्रतिरोध गर्ने मुडमा कांग्रेस छ । नेताहरूका अनुसार माओवादी कांग्रेससँग बसिरहने कुनै ग्यारेन्टी नभएको भन्दै गठबन्धन भत्किएकोमा पछुतो छैन । 

बैठकमा केही नेताहरूले नयाँ गठबन्धन बनाएर जाने कुरामा हाम्रो ध्यान पुगेन कि भन्ने थियो । तर, अहिले कांग्रेसको कमजोरी नभई माओवादीको बेमानीले गठबन्धन भत्किएको अधिकांश नेताहरूको बुझाइ रह्यो । 

गठबन्धनप्रतिको प्रतिबद्धतामा इमानदार बन्दा ‘ट्रयाक टू’को खेलमा नलागेको देउवाको भनाइ थियो । साना पार्टीले सरकार चलाउने कुरा नेचुरल भएन भन्दै  संवैधानिक , कानुनी र राजनीतिक हिसाबले उपचार खोज्नुपर्ने कांग्रेसको निष्कर्ष छ । ‘जनताले भोट दिएर ठुला बनाएका पार्टी एकतातिर हुने तर साना पार्टीले जहिले पनि खेलाइ राख्ने कुराको संवैधानिक कानुनी र राजनीतिक हिसाबले उपचार खोज्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘संविधान संशोधन, निर्वाचन ऐन, कानुन र नयाँ समीकरण निर्माणका लागि अग्रसर हुनुपर्छ शिक्षा मिलेको छ ।’

मन्त्रीहरूले पदबाट बाहिरिएको अनुभूति सुनाउँदा बैठकमा हाँसो गुन्जिएको थियो । निवर्तमान उद्योगमन्त्री रमेश रिजालले आज बिहानबाट आफ्नो अङ्गरक्षक फिर्ता भएको सुनाए । ‘आज बिहान मलाई फिर्ता बोलाइयो भनेर मसँग रहेको आर्मी हिँड्यो । नयाँ मन्त्री नआउँदै आर्मीलाई बोलाइएछ,’ उनले भने ।

रिजालले बोल्दा बोल्दै निवर्तमान उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले हिजैबाट सबैलाई फिर्ता गरेको सुनाए । ‘मन्त्री पद हिँड्यो’ भने सबै हिँडिहाल्छ नि भन्दै नेता गोपालमान श्रेष्ठले ठट्टा गरे । आफ्नो निवासको बैठक हलको बेग्लै कुर्सीमा बसेका सभापति शेरबहादुर देउवा नेताहरूको हाँसी मजाक बेला बेला हाँस्थे ।

प्रधानमन्त्री प्रचण्डले प्रश्न उठाएको निर्वमान अर्थमन्त्री प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहन बस्नेत, उद्योगमन्त्री रमेश रिजालले आफ्नो कामको बचाउ गरेका थिए । कांग्रेस उपसभापति धनराज गुरुङले अब कांग्रेसले कसैलाई काँधमा बोक्ने भन्दा पनि आफू काँधमा चढ्ने बताए ।

कांग्रेस बैठकमा गठबन्धन भत्किएर सत्ता विमुख हुँदा पनि नेताहरूबिच कसैमाथि आक्रोश र आरोप थिएन । बैठकपछि सबै नेताहरूले गठबन्धन भत्किनुमा प्रधानमन्त्री प्रचण्डको अस्थिर प्रवृत्तिलाई कारक रहेको सन्देश दिए ।

महामन्त्री थापाका अनुसार पूर्व उपसभापति विजयकुमार गच्छदारले करिब ३५ मिनेट बोलेका थिए । उनले वर्तमान परिस्थिति र विगतमा कांग्रेसभित्र हुने विचार समूहबारे लामो बोलेका थिए । 

बैठकपछि नेता अर्जुननरसिंह केसीले पनि गठबन्धनमाथि आएको आघात कांग्रेसका लागि बर्दान हुने बताए । ‘कांग्रेसमा एकता अहिलेको आवश्यकता हो । अहिलेको वर्तमान वस्तुस्थितिको विश्लेषण गरेर पार्टी कार्यकर्तामा आत्मविश्वास र एकताको सन्देश दिनुपर्छ,’ उनले भने । 

कार्यसम्पादन समिति सदस्य उमा रेग्मीले गठबन्धन भत्किएकोमा चिन्ता नलिएर पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएकी थिइन् । ‘राजनीतिमा आरोह अवरोह भइरहन्छन् । यसमा रोइलो हालेर बस्ने कुरा छैन,’ उनी भन्छन्, ‘ गठबन्धन भत्किएकोमा कुनै दुःख बनाऊ छैन ।’ 

यस्तै सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस राजनीतिक शून्यतामा नबस्ने बताए । ‘नयाँ समीकरण निर्माणका लागि कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्छ । एउटा जीवन्त पार्टी राजनीतिक शून्यतामा बस्दैन,’ उनी भन्छन्, ‘अहिले प्रचण्डले उथलपुथल गरे । केही दिनमा कांग्रेसले उथलपुथल गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप