शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

६ वटा मन्त्रालयमा माओवादीको दाबी, गृह नछाड्न पार्टीभित्रै दबाब

बुधबार, २३ फागुन २०८०, १२ : ४०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । त्यस्तै, ६ वटा मन्त्रालयमा गृह मन्त्रालय नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै दबाब परेको एक नेताले बताएका हुन् ।

सुशासनको पक्षमा काम गर्न माओवादीले गृह छाड्न नहुने नेताहरूले सुझाव दिएका थिए । तथापि गृहमा रास्वपाले दाबी छोडेको छैन । यता अर्थ मन्त्रालय लिएर गृहमन्त्री छाड्न एमाले तयार भएको ती नेताले बताए । 

यस्तै सरकारको नेतृत्व गरेको दल भएकाले सञ्चार मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । त्यस्तै ऊर्जा मन्त्रालयमा पनि माओवादीको दाबी यथावत् रहेको छ । ‘हामीले ६ वटा मन्त्रालयमा दाबी गरेका छौँ । तर कसले कति पाउने भन्ने निश्चित भइसकेको छैन । कुनै हालतमा गृह छाड्न नछाड्न नेतृत्वलाई दबाब दिएका छौँ । यसमा रविजीले मानिरहनु भएको छैन । गृह हामीले पाउने भए अर्थ एमालेले लिनेछ । यसबाहेक सञ्चार, ऊर्जामा पनि दाबी यथावत् छ । अन्तिम समयसम्म सरकारमा जाने पार्टी कति हुन्छन्, त्यसमा पनि भरपर्छ’, रातोपाटीसँग ती नेताले भने । गृह पाएमा वर्षमान पुन र नारायणकाजी श्रेष्ठ मध्ये को जाने भन्नेमा हानथाप रहेको छ । 

सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन नहुने पक्षमा नेताहरूले बढी जोड दिएका छन् । केही नेताहरूबाट भने नयाँ वा पुराना भन्दा पनि कार्य क्षमताको हिसाबले सरकार पठाउनुपर्ने मत आएको सचिव दीनानाथ शर्माले बताएका छन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सरकारमा जाने मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सरकारमा कसलाई पठाउने भन्ने विषयमा प्रचण्डले पदाधिकारी तहका नेताहरूसँग अनौपचारिक छलफल जारी राखेका छन् । 

‘सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन हुँदैन भन्ने मत बढी छ । केही साथीहरूले नयाँ पुरानाको मापदण्ड बनाउनुभन्दा पनि अहिलेको परिस्थितिमा काम गर्न सक्ने नेताहरूलाई पठाउनुपर्छ भन्ने पनि मत आएको छ । यी सबै विषयलाई हेरेर क्षेत्रीय, जातीय सन्तुलन हुने गरी अध्यक्षले निर्णय लिनुहुन्छ । मन्त्री छान्ने अधिकार हामीले अध्यक्षलाई दिएका छौँ,’ शर्माले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप