शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

कस्तो टोली हो नेपालले भारतमा मैत्रीपूर्ण खेल खेल्ने गुजरात र बरोडा ?

बिहीबार, २४ फागुन २०८०, ०९ : २५
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । आगामी टी–२० विश्वकपको तयारीका क्रममा नेपालको राष्ट्रिय टोलीले भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । क्यानका अनुसार, उक्त शृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म खेलिने छ ।

फ्रेन्डसीप कप नाम दिइएको शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ । अप्रिल १ मा गुजरात र बरोडाबिच खेल हुनेछ ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ । अप्रिल ५ मा नेपाल र बरोडाबिच लिग चरणको अन्तिम खेल हुनेछ । त्यसपछि अप्रिल ७ तारिखमा शृंखलाको फाइनल खेल खेलिने छ ।

गुजरात र बरोडा दुबै भारतको घरेलु क्रिकेटका बलिया टोली हुन् । यी दुबै टोलीले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् । यी टोलीले भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफी र सैयद मुस्ताक अली ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो ।

बरोडा पनि गुजरातकै क्रिकेट टोली हो । बरोडाको घरेलु मैदान भने मोती बाग स्टेडियम हो । बरोडा क्रिकेट संघले यो क्लबको व्यवस्थापन हेर्ने गर्छ । गुजरात र बरोडा दुबै भारतको घरेलु क्रिकेटका प्रभावशाली क्लब हुन् ।

यी दुबै क्लबले भारतको राष्ट्रिय टोलीलाई थुप्रै चर्चित खेलाडी दिइसकेका छन् । विनु मानकद, अक्सर पटेल, पार्थिव पटेल, मनप्रित जुनेजा, जासु पटेल, दीपक सोधन, जसप्रित बुमराह, पियुष चावलाजस्ता आफ्नो समयका प्रभावशाली खेलाडी गुजरातका उत्पादन हुन् ।

यसैगरी भारतीय क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अंशुमन गायकवाड, विजय हजारे, नयन मोंगिया, किरण मोरे, युसुफ पठान, इरफान पठान, मुनफ पटेल, जहिर खान, हार्दिक पाण्डेया, कुर्णाल पाण्डेया, अम्बाटी रायडु, पिनल शाहजस्ता प्रभावशाली खेलाडी बरोडाका उत्पादन हुन् ।

हाल गुजराज टोलीमा आर्या देसाई, प्रियंक पंचाल, मानन हिंगराजिया, क्षितिज पटेल, उमंग कुमार, उर्भिल पटेल, रिपल पटेल, चिन्तन गाजा, रवी बिस्नोई, प्रियजितसिंह जडेजा, अर्जन नगवसवल्ला, चिराग गान्धी, सौरभ चौहान, सनप्रित बग्गा, कथन पटेल, अक्सर पटेल, सिद्धार्थ देसाई, पियुष चावला, विशाल जैसवाल, हार्दिक पटेल र जसप्रित बुमराहलगायतका खेलाडी आबद्ध छन् ।

यसैगरी हाल बरोडाको टोलीमा ज्योत्सनिल सिंह, साश्वत रावत, प्रत्युष कुमार, शिवालिक शर्मा, भानु पनिया, किनित पटेल, हर्ष देसाई, अभिमन्यु राजपुत, कुर्नाल पाण्डेया, ध्रुव पटेल, हार्दिक पाण्डेया, विष्णु सोलान्की, मितेस पटेल, अनन्त भरवाद, निनद राथव, महेश पिथिया, भार्गव भट्ट, कार्तिक ककाडे, लुकम्यान मेरिवाला, अतित सेठ, बाबासफी पठान, सोएब सोपारियालगायतका खेलाडी छन् ।

गुजरातले सन् सन् २०१६–१७ सिजनमा रणजी ट्रफीको उपाधि जितेको थियो । सन् १९५०–५१ मा गुजरात रणजी ट्रफीमा उपविजेता बनेको थियो । गुजरातको टोलीले सन् २०१५–१६ सिजनमा विजय हजारे ट्रफीको उपाधि चुमेको थियो ।

यसका अतिरिक्त गुजरात सन् २०१०–११ सिजनमा विजय हजारे ट्रफी उपविजेता बनेको थियो । गुजरातले सन् २०१२–१३ र सन् २०१४–१५ सिजनमा अर्को चर्चित प्रतियोगिता सैयद मुस्ताक अली ट्रफी पनि जितेको थियो ।

यसैगरी बरोडा भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफीको सबैभन्दा सफल क्लबमध्ये एक हो । बरोडाले सन् १९४२–४३, सन् १९४६–४७, सन् १९४९–५०, सन् १९५७–५८ र सन् २०००–०१ सिजनमा रणजी ट्रफी जितेको थियो ।

बरोडाको टोली सन् १९४५–४६, सन् १९४८–४९, सन् २००१–०२ र सन् २०१०–११ सिजनमा रणजी ट्रफीको उपविजेता बनेको थियो । बरोडाले सन् २०११–१२ र सन् २०१३–१४ सिजनमा सैयद मुस्ताक अली ट्रफी जितेको थियो । बरोडाको टोली सन् २०१५–१६, सन् २०२०–२१ र सन् २०२३–२४ सिजनमा सैयद मुस्ताक अली ट्रफीको उपविजेता बनेको थियो ।

विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा बरोडाका शिवालिक शर्मा मुम्बई इन्डियन्सबाट, क्रुणाल पाण्डेया लखनउ सुपर जाइन्ट्स र हार्दिक पाण्डेया मुम्बई इन्डियन्सका खेलाडी हुन् ।

यसैगरी गुजरातका सौरभ चौहान रोयल च्यालेन्जर्स बैंगलोर, अक्सर पटेल दिल्ली क्यापिटल्स, रवी बिस्नोई लखनउ सुपर जाइन्ट्स, पियुष चावला मुम्बई इन्डियन्स र जसप्रित बुमराह आईपीएल टोली मुम्बई इन्डियन्समा आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप