शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ र फरक भूमिका गर्न सधैँ मनपर्छ : हरिवंश आचार्य

शुक्रबार, २५ फागुन २०८०, १४ : २६
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले आफूलाई नयाँ र फरक भूमिका अभिनय गर्न सधैँ मनपर्ने बताएका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक सन्देश प्रवाह गर्छ भने त्यो भूमिका आफ्नो रोजाइमा पर्ने उनको भनाई छ ।

सानो पर्दादेखि ठुलो पर्दासम्मको अभिनयमा थुप्रै सकारात्मक, नकारात्मक भूमिका निर्वाह गरिसकेका आचार्य प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा नकारात्मक भूमिकामा देखिँदै छन् । प्रचारका लागि सार्वजनिक ट्रेलरबाट पनि उनी फिल्ममा भ्रष्ट राजनीतिज्ञको रुपमा देखिन लागेको अनुमान गर्न सकिन्छ । फिल्मभित्र रहेको आफ्नो भ्रष्ट राजनीतिज्ञको नकारात्मक भूमिकाले समाजमा सकारात्मक सन्देश दिने उनी बताउँछन् ।

‘फिल्ममा मेरो नकारात्मक भूमिकाले पर्दामार्फत यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्छ । मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ’, उनले भने, ‘फिल्म त पुरै हेरेको छैन । निर्देशक प्रदीपसँग दुई फिल्ममा काम गरिसकेको हुँदा उनको काम प्रति ढुक्क छु ।’ प्रदीपको फिल्मका कथाले समाजलाई मनोरञ्जनसँगै सन्देश दिने भएकोले पनि ‘महाजात्रा’ आफ्नो रोजाइमा परेको उनले खुलाए ।

‘महाजात्रा’ हिट फिल्म ‘जात्रा’को तेस्रो सिक्वेल हो । ‘जात्रा’ले यसअघिका श्रृखलामा पनि बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी उठाएको थियो । ‘महाजात्रा’मा यी सबै विषयमा राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास थप गरिएको उनी बताउँछन् । उनी भन्छन्, ‘बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति यो सिरिजमा गम्भीर रुपमा देख्न पाउँछौ ।’

आचार्य अभिनयको अलवा फिल्म निर्माणमा पनि सक्रिय व्यक्ति हुन् । ‘शत्रुगते’, ‘दालभात तरकारी’ लगायतका फिल्म निर्माण गरेका उनी पछिल्लो समय निर्माण भन्दा अभिनयमा सक्रिय छन् । राम्रो निर्माण समूहसँग काम गर्ने योजना अनुसार आफू अभिनयमै केन्द्रित रहेको उनले बताए ।

‘महाजात्रा’मा आचार्यको अलवा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप