कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो ।
आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । “कालीगण्डकीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि आनन्दबगर जोखिममा परेको थियो,” उनले भने “चालु आर्थिक वर्षमा ७० मिटर लामो र आठ मिटर अग्लो पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”
झण्डै रु ७४ लाखको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ तीन मिटर अग्लो पक्की र सतहमा चार मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताए । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायीरुपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ । सत्र परिवारको बसोबास रहेको आनन्दबगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो ।
परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि आठ ठाउँमा रु ५० करोडको लागतमा संरक्षणको काम गरिरहेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित उक्त आयोजना निर्माणले तिब्रता पाएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए ।
“गलेश्वर, राम मन्दिर, वारीबेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,” उनले भने– “बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?