सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर

आइतबार, २७ फागुन २०८०, १९ : २१
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा कटवाललाई दोषी ठहर गरेको हो । कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुनेसमेत फैसला गरेको छ ।

सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

  • के गरेका थिए कटवालले ?

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको कागजी नियुक्ति तयार पारी तलब निकासा गराएका थिए । त्यसै गरी हुँदै नभएको काम भएको भनी खर्च देखाएको, भर्चुअल अनुगमन गरेको जिल्लामा अनुगमनमा गएको भनी बिल तयार पारी रकम बुझेको, विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल तयार पारेको र नक्कली सम्झौता गरेको लगायतको कसुरमा मुद्दा दायर भएको थियो ।

स्थायी शिक्षिका रहेकी उनकी पत्नीको नाममा कर्मचारी भनी कम्प्युटर अपरेटरको नाम राखे पनि उनको पत्नीले कहिल्यै काम गरिनन् । बरु कर्मचारी भन्दै पत्नीको नाममा नियुक्ति दिई आफैँले तलब बुझ्ने गरेको पाइएको थियो ।

त्यस्तै रजिष्ट्रार कटवालले बिग्रेर थन्किएर बसेको सवारीसाधनसमेत मर्मत गरेको भनी व्यवसायीसँग बिल लिएर भुक्तानी लिएको पाइएको थियो । त्यस्तै भ्रमण गरेको भनी मिति सच्याएर किर्ते गरी रकम भुक्तानी लिएको लगायतको आरोप रजिष्ट्रार कटवालमाथि लगाइएको थियो । 

सोही मुद्दामा विशेष अदालतले कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना र ९ महिना कैद सजायको फैसला सुनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप