सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि परियोजना सञ्चालन गर्ने तयारी

सोमबार, २८ फागुन २०८०, २२ : ३०
सोमबार, २८ फागुन २०८०

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरुले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरु भएको बताएका हुन् ।

भवनको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताए । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उनले बताए ।

बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै उनले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए । विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा एक खर्बको परियोजना शुरु भएको भन्दै उनले त्यो परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे  

पूर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताए । देवदहबासीका लागि देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्ने उनले बताए ।

debdaha

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचनाहरु निर्माण हुने बताए । ‘हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौँ, अब यसै अनुरुपका पूर्वाधारहरु निर्माण हुनेछन्,’ उनले भने । 

विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए ।  विश्वविद्यालयका रजिष्टर डा.तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए ।  

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप