मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आरती शाहका परिवार र सरकारबिच ५ बुँदे सहमति

मङ्गलबार, २९ फागुन २०८०, २२ : ३८
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । आरती शाहका परिवार र गृह मन्त्रालयका अधिकारीहरू बिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवार आन्दोलन फिर्ता लिन सहमत भएका छन् । 

२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको पीडित परिवारको आरोप छ । शाहका परिवारसँग ५ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले रातोपाटीलाई बताइन् । 

मङ्गलवारको छलफलपछि भएको सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह,  दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् । गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् ।  छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार ९ पुसमा आरती शाहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबु अहिले थुनामा छन् । 

घटना भएपछि पीडितको जाहेरीका आधारमा प्रहरीले  मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरू उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो ।

पीडित परिवारले अनुसन्धान फितलो बनाउने प्रहरीलाई पनि कारवाहिको माग राख्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप