आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्, मलाई चिन्ता यसैमा छ : रेशम चौधरी

बुधबार, ३० फागुन २०८०, ०८ : ०३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । 

चौधरी भन्छन्–'सन्दर्भ: घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो,जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।'

उनले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जितालाई सम्बोभन गर्दै भनेका छन् -'मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।' 

चौधरीको भनाइ जस्ताको त्यस्तै

विषय जित हारको होइन,

आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् ।

सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।

सन्दर्भ स् घर झगडा हुँदै होइन,विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।

आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस  । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजबादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ रु

त्यसैले कुरा बुझौँ, कुनैपनि गठबन्धनका पछाडि नलागौँ ।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धान्त अनुरूप चलौँ ।

कुरो रह्यो बूढाबूढीको । म उनलाई सम्झाउन कैलाली बाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भइनन् । उनको भनाइ छ ( प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न ।

अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि  । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो । 

मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टन्टै साफ । 

हो,जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगका लागि विधान लेखेको हुँ,दुरुपयोगका लागि होइन । अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ,महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले कहिदिनमा अवश्य न्याय देला ।

३ तर याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ । सबैलाई लागेको होला,केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ ।

मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभूत भएको छ,त्यस कारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो,हार होइन ।

मान्नै पर्छ, दुख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप